ध्रुविकृत हुन लागेको नेपाली राजनीतिमा आईसब्रेक गर्ने प्रयत्नमा तीन दल, अडान होइन सहमतिको बाटो लाग्ने सबैको प्रतिबद्धता
संविधानका विवादित विषयलाई लिएर दलबीच चुलिएको अन्तरविरोध र चिसिएको सम्बन्धमा सुधारको सङ्केत देखिएको छ । सहमतिको प्रयासका क्रममा एकार्कालाई आरोप, घोचपेच र टिप्पणी गरेर दूरी बढाएका दलहरूको आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू सहमतिका लागि सकारात्मक बने । वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा(एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतमले आफूहरूबीच सकारात्मक कुराकानी भएको र पछिल्लो समय दलबीच टुट्न लागेको सम्बन्ध जोडिएको बताउनुभयो । “संविधानबारे घोषित पछिल्लो धारणा हाम्रो आधिकारिक हो, तर हामी त्यसमा लचिला छौँ, हामी छलफल गर्न तयार छौँ, हामीले उचित संशोधन आउँदा त्यसलाई स्वीकार गर्छौँ भनिरहेकै छौँ, अब दलीय वार्ता गरेर प्रक्रिया अघि बढ्छ, आज आआफ्नो कुरा खुलस्त राख्याँैं,” उहाँले भन्नुभयो । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दलबीच सकारात्मक छलफल भए पनि कुनै निष्कर्षमा नपुगिएको बताउनुभयो । “छलफल गरौँ, सहमति गरौँ, व्यवहारमा कसकसका के अभिव्यक्ति भए, व्यक्तिगत रुपमा त्यतातर्फ नजाऔँ, हामीले आज पनि प्रमुख दल प्रमुख विषयमा सहमति गरेर जानुपर्छ भन्यौँ ।” उहाँले संविधानसभामा आआफ्नो प्रस्ताव लगे मतदानमा जाने कुरा देशका लागि हितकर नहुने बताउँदै विवादित विषयमा सहमति खोज्ने हो भने आआफ्ना अडान छाडेर बीचको मिलनविन्दु खोज्नुपर्नेमा जोड्नुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष गौतम र नेता माधवकुमार नेपाल तथा एमाओवादीका अध्यक्ष पुष्पकुमार दाहाल, उपाध्यक्ष श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी हुनुहुन्थ्यो ।