बौद्धिकता पलायलनको अवस्था दर्दनाक भएको प्रधानमन्त्रीको ठम्याई, केयुको दिक्षान्तमा आठ हजार तीन सय ४३ दिक्षित


sushilप्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन नहुने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई धुलिखेलमा सम्बोधन गर्दै विश्वविद्यालय राजनीति गर्ने थलो होइन भन्नुभयो । उहाँले मुलुकमा बौद्धिकता पलायनको अवस्था दर्दनाक भएको उल्लेख गर्दै पेसेवर बौद्धिक समुदाय चिकित्सक, इन्जिनियरलगायत विज्ञता भएका व्यक्ति अवसरको खोजीमा पलायन हुनु दुर्भाग्य भएको बताउनुभयो । बौद्धिक समुदायलाई मुलुकमा नै आकर्षित गरेर उनीहरूसँग फाइदा लिनुपर्नेमा जोड दिँदै प्रम कोइरालाले विश्वविद्यालयलाई अनुसन्धान र अन्वेषणको थलो बनाइनुपर्छ भन्नुभयो । मुलुकमा निर्धारित समयमा नै नयाँ संविधान जारी हुने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, दिगो शासन व्यवस्थाको अभावमा मुलुकले अस्थिरता झेलिरहेको छ, त्यसैले छिटोभन्दा छिटो निकास खोजेर मुलुकलाई संवृद्धिको दिशामा अघि बढाउनुपर्छ ।” विश्वविद्यालयबाट मेडिकल साइन्सेज विधामा आठ हजार ३४३ दीक्षित भएका छन् । उनीहरू सबै एमबिबिएस विधाका विद्यार्थी हुन् । दीक्षित भएकामध्ये भारतका १७८, श्रीलङ्काका सात, मालदिभ्सको एक, भुटानको एक र अमेरिकाका एक रहेका छन् । कार्यक्रममा अस्ट्रियाका युरोपमा नै लोकप्रिय शरीर विज्ञान विषयका विद्वान प्रा डा विलहेल्म फिरबास, केयुका उपकुलपति डा रामकण्ठ माकाजुले शिक्षालाई सेवाका रूपमा उपयोग गर्न सुझाव दिनुभयो । सो अवसरमा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने नोबेल मेडिकल कलेज विराटनगरकी छात्रा ज्योति विधानलाई भाइसचान्सलर स्वर्णपदक प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?