विदेशीको ईशारामा चल्ने शासकहरुले जनताको लागि केही काम गर्न नसकेको विजुक्छेको आरोप
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलहरु विदेशीका चङ्गुलमा पर्दा देश सङ्कटमा परेको आरोप लगाउनुभएको छ । इन्जिनियर समाज नेपालको भक्तपुरमा पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले विदेशीको निर्देशनमा चल्ने शासक दलहरुले देश र जनताका लागि केही काम गर्न नसकेको बताउनुभयो । बिजुक्छेले भन्नुभयो– “सरकार चलाउने ठूला पार्टीहरु विदेशी चङ्गुलमा फस्ने विदेशी दलाल भएकाले देश झन् सङ्कटमा पर्दै गएको हो, त्यसैले अहिलेसम्म कुनै पनि सङ्कटले निकास पाउन सकेन, यस्ता दलसँग अब जनताले आशा गर्नु बेकार हुन्छ ।” उहाँले ठूला दलले अहिलेसम्म गहिराइमा गएर संविधान निर्माणका विषयमा छलफल नगरी प्रचारमा आउने कार्य मात्र गरेको जिकिर गर्दै संविधानसभामा रहेका ६०१ सदस्यमध्ये आधालाई मात्र पनि संविधानकाबारेमा जानकारी नभएको दाबी गर्नुभयो । नेकपा–एमाओवादी र मधेसवादी दलहरुले देशलाई जातीय र क्षेत्रीय आधारमा प्रदेश विभाजन गरेर देशलाई नै विभाजनमा लान खोजेको आरोप लगाउँदै उहाँले यसले देशमा रक्तपात मच्चिने बताउनुभयो । देश बिग्रनुमा दलका नेताहरु नै दोषी रहेको बताउँदै उहाँले देशलाई अगाडि बढाउन प्राध्यापक, शिक्षक र इन्जिनियर पनि राजनीतिक क्षेत्रमा आउनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष एवम् इन्जिनियर रवीन्द्र कोंजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व ऊर्जा सचिव शितलबाबु रेग्मी, प्रा डा एवम् इन्जिनीयर जगन्नाथ श्रेष्ठ, समाजका सचिव नरेश खत्री र गणेशराम कोंजुलगायतले सरकारले गर्न लागेको माथिल्लो कर्णालीको पिडिए सम्झौता गलत भएको बताउनुभयो ।