संसदको बजेट अधिवेशन समाप्त, जेठ १६ गतेदेखि चलेको बैठक १ सय ६४ दिनमा सकियो
व्यवस्थापिका–संसद्को बजेट अधिवेशन गए राति १० बजेबाट समाप्त भएको छ । संसद्को दोस्रो बैठकमा सभामुख सुवास नेम्वाङले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति डा रामवरण यादवबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । संविधानसभाको बैठक निर्धारण नगरी संसद्को बैठक अन्त्य भएको छ । संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई यही कात्तिक १५ गतेसम्मका लागि समय दिइएकामा हालसम्म सो समितिले प्रतिवेदन पेस नगरेपछि संविधानसभाको बैठक बस्न सकेको छैन । बजेट अधिवेशन गत जेठ १६ गते प्रारम्भ भएको थियो । यसबीचमा १६४ दिन चालू रहेकामा ७१ दिनमा गरी १९९ घन्टा १५ मिनेट बैठक खास कार्यमा व्यतित भएकोे थियो । यसबीचमा दलहरूबीचको सहमतिको कार्यान्वयन तथा बजेट प्रस्तुत भएपछि विभिन्न पटक विपक्षीबाट संदन अवरोध भएका कारण प्रस्तुत सबै विधेयकमा छलफल हुन पाएन । यस अधिवेशनमा असार १५ गते राष्ट्रपति डा यादवले आव २०७१÷०७२ को सरकारको नीति तथा कार्यक्रममाथि सम्बोधन गर्नुभएको थियो भने अर्थमन्त्री डा रामशरण महतले जेठ २८ मा आव २०७१÷०७२ को बजेट पेस गरेपछि छलफल भई पारित भएको थियो । अधिवेशनमा जम्मा २० सरकारी विधेयक दर्ता भएकामा छ विधेयक पारित भएका छन् भने १३ विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको अधिवेशन समापनका अवसरमा सभामुख नेम्वाङले जानकारी गराउनुभयो । यस्तै अधिवेशनमा संसदीय इतिहासमा पहिलो पटक ‘अदालतको अवहेलनासम्बन्धी विधेयक, २०७१’ लाई जनताको प्रतिक्रियाका लागि पठाउने निर्णय भएको थियो । गत साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा संसद्लाई सम्बोधन यही अधिवेशनमा भएको थियो । अधिवेशनमा शिक्षा, स्वास्थ्य, स्थानीय निकाय निर्वाचन र श्रमसम्बन्धी अलग अलग जरुरी सार्वजनिक महत्वको प्रस्ताव र ध्यानाकर्षण प्रस्तुत भएका थिए । अधिवेशनमा संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति गठन र पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थापन गर्नेसम्बन्धी अध्ययन सुझाव समितिको प्रतिवेदन पेस भए । यस्तै बाराको सिम्रौनगढ घटनाका सम्बन्धमा पनि विशेष संसदीय छानबिन समिति गठन भएको थियो ।