छिमेकीसहित पूरै एशिया प्रशान्त क्षेत्रलाई चीनको नयाँ दृष्टिकोण, राष्ट्रपति सीबाट एपेक समूहको सपना प्रस्तुत
चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया प्रशान्त क्षेत्रका लागि चिनियाँ सपना प्रस्तुत गर्नुभएको छ । यसबीच बेइजिङले क्षेत्रीय भेलाको आयोजना गरिरहेको छ र यसले यस क्षेत्रको विश्वव्यापी शक्तिलाई देखाउँछ । एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) को वार्षिक बैठक हुनुपूर्व व्यापारी तथा राजनीतिक नेताहरूलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले एसिया प्रशान्त क्षेत्रका जनताका लागि यस क्षेत्रको सपना प्रस्तुत गर्नु र त्यसलाई प्राप्त गर्नु आफूहरूको जिम्मेवारी भएको बताउनुभयो । एक्काइस सदस्यीय एपेक समूहमा विश्वको ४० प्रतिशत जनता बसोबास गर्छन् । यसले विश्वको करिब आधा व्यापार तथा कुल गार्हस्थ उत्पादन दिने गर्छ । यस शिखर बैठकमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, रसियाली समकक्षी भ्लादिमिर पुटिन तथा चिनियाँ प्रधानमन्त्री सिन्जो आवेले पनि भाग लिनुहुनेछ । यस शिखर बैठकमा बेइजिङले एसिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा प्रस्तुत गर्नेछ भने वासिङ्टनले आफ्नै अन्तरप्रशान्त साझेदारी प्रस्तुत गर्नेछ । अमेरिकी अन्तरप्रशान्त साझेदारी (टीटीपी) मा चीन बाहेक जापान तथा अस्ट्रेलिया सहितको एपेकका १२ मुलुक समावेश हुनेछन् । अमेरिकी राष्ट्रपति ओबामा आइतबार वासिङटनबाट प्रस्थान गर्नुभएको जानकारी ह्वाइट हाउसले दिएको छ । उहाँले चिनियाँ राष्ट्रपति सीसँग स्पष्ट तथा गहन वार्ता गर्नुहुने बताइएको छ । गत साता अमेरिकी विदेशमन्त्री जोन केरीले दुई शक्तिको सम्बन्धले विश्वका लागि सबैभन्दा बढी प्रभाव राख्ने बताउनुभयो । राष्ट्रपति सीले चीनको विकासले एसिया प्रशान्त तथा विश्व समग्रलाई ठूलो अवसर तथा फाइदा उपलब्ध गराउने र त्यो दिगो हुने बताउनुभयो । उहाँको एसिया प्रशान्त क्षेत्रका लागि सपना यस क्षेत्रको साझेदारी, शान्ति, विकास तथा आपसी फाइदाप्रति लक्षित गन्तव्यमा आधारित भएको बताउनुभयो । राष्ट्रपति सीले एसिया प्रशान्त क्षेत्रका लागि सपनामा चिनियाँ सपनाको प्रभाव रहेको बताउनुभयो । उहाँले चिनियाँ सपनाका विषयमा नियमित रूपमा बोल्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य रहेको बेइजिङको दसकौँसम्मको समृद्धिले यसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाएको छ । यसका कारण यसको क्षेत्रीय तथा विश्वव्यापी भार बढेको छ । बेइजिङले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति बनाएकाले यसलाई मुलुकसँग व्यापार गर्न सम्भव बनाएको छ । त्यसो त पश्चिमी मुलुकका लागि चीन अछूत जस्तो देखिन्छ । व्यापार विवाद, साइबर गुप्तचरी तथा मानव अधिकारका विषयमा अमेरिकासँगको चीनको सम्बन्ध तनावपूर्ण बनेको छ । उसको टोकियोसँग सम्बन्ध पूर्वी तथा पश्चिमी चिनियाँ जलक्षेत्रमाथि दाबीका कारण बिग्रिएको छ । राष्ट्रपति सीको समयमा यी दुबै क्षेत्रमा चीनको दाबी अझै कडा बनेको छ । उहाँले चीन आफ्ना सबै छिमेकीसँग समन्वयमा बाँच्न चाहेको बताउनुभयो । यसअघि जापान तथा चीन दुबैले उक्त क्षेत्रमा जहाज तथा विमान पठाएका थिए । हाल उक्त क्षेत्र जापानको नियन्त्रणमा छ भने चीनले आफ्नो भएको दाबी गरेको छ । दुई मुलुकबीच सम्बन्ध सुधार गर्ने एक विज्ञप्तिपछि एपेकको बैठकका समयमा चिनियाँ राष्ट्रपति सी तथा जापानी प्रधानमन्त्री आबेबीच शिखर वार्ता हुनेभएको छ । चीनले दसकौँसम्म आर्थिक विकास गरेकाले उसले अमेरिकापछि विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्रको स्थान प्राप्त गरेको छ । यसो भए पनि हाल चीनको आर्थिक वृद्धि घट्दो देखिएको छ र यस आर्थिक वर्षको तेस्रो तीन महिनामा यो गत पाँच वर्षकै सबैभन्दा कम भएको देखिएको छ । चीन हाल विश्वको अर्थतन्त्रलाई अगाडि बढाउने प्रमुख मुलुक बनेको छ । यसो भए पनि हाल उसको घरजग्गाको मूल्य घटेको देखिएको छ । अर्कोतिर भ्रष्टाचारमा नियन्त्रण गर्दा केही व्यापार कम भएको देखिएको छ भने युरोपमा चिनियाँ उत्पादनको माग पनि घटेको देखिएको छ । यसो भए पनि चीनले आउँदो दसकमा अन्य मुलुकमा एक हजार २५० अर्ब लगानी गर्ने लक्ष्य लिएको राष्ट्रपति सीले बताउनुभयो । यसै गरी आउँदो पाँच वर्षमा विदेश पुग्ने चिनियाँ पर्यटकको सङ्ख्या ५० करोड पुग्ने अनुमान गरिएको छ । राष्ट्रपति सीले चीनको समग्र राष्ट्रिय शक्ति बढ्ने र उसले क्षेत्रीय सहयोग विस्तार गर्न नयाँ पाइला तथा दृष्टिकोण अगाडि बढाउन चाहेको बताउनुभयो । यसो भए पनि एपेकमा उपस्थित हुने नेताहरूले चीनको दृष्टिकोणलाई स्वीकार गर्छन् वा गर्दैनन् भन्ने कुरा स्पष्ट भएको छैन ।