नाइजेरियाको एक विद्यालयमा आत्मघाती बम आक्रमण, सतचालीस बालकको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी भागमा एक विद्यालयमा बोको हराम भनी आशङ्का गरिएका आत्मघाती बम आक्रमणकारीले करिब ५० बालकको हत्या गरेका छन् । यस मुलुकका पश्चिमी पाठ्यक्रम पढाउने विद्यालयमा गरिएका सबैभन्दा नराम्रा आक्रमणमा यो पनि एक भएको बताइएको छ । योबे राज्यको पोतिस्कुममा बालक मात्र पढ्ने विद्यालयमा उक्त आक्रमण भएको हो । यो यस नगरमा गत आठ दिनमा भएको दोस्रो आत्मघाती आक्रमण हो । एक दिनअगाडि बोको हरामका नेता अबुबाकर सेकाउले सरकारले आफूहरूसँग युद्धविराम गरेको र शान्तिवार्ता गरेको भनी गरेको दाबी अस्वीकार गरेका थिए । पोतिस्कुमको गभर्नमेन्ट कम्प्रिहेन्सिभ सिनियर साइन्स सेकेन्ड्री स्कुलमा विद्यार्थीहरू प्रधानाध्यापकको दैनिक सम्बोधन सुन्न कुरिरहेको समयमा बिहानको ७ः५० बजे उक्त आक्रमण भएको बताइएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता एमानुएल ओजुक्वाले आत्मघाती बम आक्रमणकारीले गरेको विस्फोटको आवाज सुनिएको र ४७ बालकको मृत्यु भएको तथा ७९ घाइते भएको जानकारी दिए । उनले बोको हराम यस आक्रमणका लागि जिम्मेवार रहेको विश्वास गरिएको बताए । मर्ने बालक तेह्र वर्षमाथिका भएको अनुमान गरिएको छ । नाइजेरियाको उत्तरी भागमा कट्टरपन्थी इस्लामी राज्य स्थापना गर्ने योजना बनाएको बोको हरामले पश्चिमी पाठ्यक्रम पढाउने विद्यालयहरूमा सन् २००९ देखि घातक आक्रमण गरिरहेको छ । फेब्रुअरी महिनामा एक बन्दुकधारीले योबे राज्यको बुनी यादी सरकारी आवासीय विद्यालयको छात्रावासमा बम आक्रमण गर्दा ४० विद्यार्थीको मृत्युभएको थियो । यसै गरी गत वर्ष जुलाइ महिनामा पोतिस्कुम नजिकै मामुदो गाउँमा एक सरकारी विद्यालयमा बोको हराम लडाकू प्रवेश गरी गोली तथा बम प्रहार गर्दा ४२ विद्यार्थीको मृत्युभएको थियो । यस समूहले नाइजेरियाको उत्तरपूर्वी भागमा बोर्नो राज्यको चिबोकमा २७६ बालिका अपहरण गरेको छ ।