अलीबाबाका ज्याक मा भन्छन् :  सबैभन्दा धनी हुनु ठूलो पीडा


alibabaइ–व्यापारमा बृहत् संस्था अलीबाबाका संस्थापक ज्याक मा हाल चीनका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ तर उहाँले एक अमेरिकी टेलिभिजन अन्तर्वातामा यत्ति धेरै धनी बन्नु वास्तवमा उहाँका लागि ठूलो पीडा बनेको बताउनुभएको छ । सेप्टेम्बर महिनामा न्यु योर्क शेयर बजारमा अलिबाबाको २५ अर्ब अमेरिकी डलर बराबरको शेयर बिक्री भएपछि माको सम्पत्ति १९.५ अर्ब अमेरिकी डलर पुगेको छ । उक्त तथ्याङ्क फोर्बसको पत्रिकाको हो । मङ्गलबार यस संस्थाले २४ घण्टाको एक दिनमा ९.३ अर्ब अमेरिकी डलर बराबर व्यापार गरेको देखिएको छ । यो हालसम्म अनलाइन खुद्रा व्यापारमा सबैभन्दा अधिक बिक्री हो । शेयर बजारमा सफलतापूर्वक सूचीबद्ध हुनु तथा धेरै सम्पत्ति देखिनु आफ्ना लागि तनावपूर्ण भएको माले अमेरिकी व्यापारिक समाचार च्यानल सीएनबीसीलाई मङ्गलबार बताउनुभयो । उहाँले यस महिना आफू धेरै खुसी नभएको र धेरै दबाब भोगेको बताउनुभयो । ‘‘हुनसक्छ शेयरको मूल्य बढोस्, हुनसक्छ मानिसको अपेक्षा तपाईँप्रति बढोस्, हुनसक्छ म भविष्यका बारेमा धेरै सोचूँ र मसँग चिन्ता गर्नुपर्ने धेरै कुरा छन्’’, उहाँले भन्नुभयो । दुई महिनामा न्यु योर्कमा सूचीबद्ध भएपछि अलीबाबाको शेयरको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबार यसको मूल्य ११४.५४ अमेरिकी डलरमा पुगेको थियो । यस संस्थाको शेयर आरम्भमा ६८ अमेरिकी डलरमा बिक्री भएको थियो भने यसले ७० प्रतिशत नाफा कमाएको छ । माले मानिसले धनी हुनु राम्रो भएको बताए पनि उहाँले चीनमा धनु बन्नु कठिन भएको बताउनुभयो । ‘‘हो, यो राम्रो कुरा हो तर चीनमा सबैभन्दा धनी व्यक्ति हुनु राम्रो होइन । तपाई विश्वको सबैभन्दा धनी व्यक्ति हनुहुन्छ तब त्यो ठूलो पीडा बन्ने गर्छ । सबैजना तपाईँसँग पैसाका लागि घेर्ने गर्छन्’’, मा ले सीएनबीसीलाई भन्नुभयो । उहाँले सडकमा हिँड्दा आफूलाई मानिसले भिन्न तरिकाले हेर्ने गरेको बताउँदै ‘‘पैसा कमाउनुभन्दा खर्च गर्नु बढी कठिन हुने’’ बताउनुभयो । उहाँले अक्टोबर महिनामा चीनमा सबैभन्दा धनी व्यक्ति हुनु अर्थहीन भएको बताउनुभएको थियो । उहाँले आफूले प्रति महिना ९० युआन (१५ अमेरिकी डलर) कमाउँदा आफू सबैभन्दा सुखी व्यक्ति भएको बताउनुभएको थियो । उहाँले उक्त रकम व्यापारिकरूपले खर्च गर्ने एक संस्था स्थापना गर्ने सम्भावनामा सोचिरहनुभएको बताउनुभयो । उहाँले यस विषयमा अमेरिकी अरबपति बिल गेट्ससँग प्रतिस्पर्धा गर्ने सम्भावना पनि भएको बताउनुभयो । माले वातावरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने एक संस्था स्थापना गर्न आफ्नो व्यापारको १.४ प्रतिशत रकम दान दिनुभएपछि उहाँ चीनमा सबैभन्दा बढी दान गर्ने व्यक्ति बन्नुभएको हुरुनले गत अक्टोरमा जानकारी दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?