१५ वर्षीया किशोरी बलात्कार गर्ने पाँचविरुद्ध किटानी जाहेरी, भेट्न बोलाएर सामूहिक बलात्कार गर्नेहरु फरार
तेह्रथुमको मोराहाङका पाँचजना युवाले १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरी फरार भएका छन् । ओयाक्जुङ गाविस बस्ने किशोरीलाई मंगलबार स्थानीय खोरुङ्गा खोलास्थित विद्युतगृह नजिकै भेट्न बोलाएर पाँचजना युवाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीका अनुसार मोराहाङ–४ बस्ने पाँचजनाले सामूहिक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ । आरोपितहरूमा २२ वर्षीय विष्णुकुमार खापुङ र १८ वर्षीय अन्य चारजना क्रमशः निलम लिम्बू, सुनिल लिम्बू, जीवन बराइली र गोविन्द सम्बाहाम्फे रहेको प्रहरी नायब निरीक्षक रामबहादुर खड्काले जानकारी दिनुभयो । किशोरीलाई बलात्कार गर्ने पाँचैजना फरार रहेको र उनीहरूको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले बताउनुुभयो । बलात्कृत युवतीको अहिले तेह्रथुम जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यसैबीच, एक १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना तथा विभिन्न ठाउँमा चोरी गरेको आरोपका आरोपी दुईजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले विशेष सुराकीको अधारमा बलात्कार तथा चोरीको आरोपितलाई पक्राउ गरेको हो । सुनसरीको जल्पापुर गाविस बस्दै आएका रुस्तम मियाँलाई श्रीपुरजब्दी गाविसका एक १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको छ भने सुनसरीको श्रीपुरजब्दी गाविस–८ बस्दै आएको इसराइल मन्सुरी र इसराफिल मियाँलाई विभिन्न ठाउँमा चोरी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिनुभयो । जल्पापुर गाविस बस्दै आएका रुस्तमले १४ वर्षीया बालिकालाई जबर्जस्ती उहाँकै घरमा गएर करणी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका रुस्तमलाई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको समेत गरेको प्रहरी उपरीक्षक खाँले बताउनुभयो । त्यसैगरी इसराइल मंसुरी र इसराफिललाई विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक खाँले बताउनुभयो । पक्राउ परेको घरबाट किराना समानसमेत बरामद भएको र इसराफिलको घरबाट छ राउन्ड गोली बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले बताउनुभयो ।