जाइकाले नागढुङ्गा सुरुङ मार्गमा लगानी गर्ने निश्चित
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुली–बर्दिवास सडकसँगै नागढुङ्गा सुरुङ मार्ग र सूर्यविनायक–धुलिखेल बाटोमा लगानी गर्ने तयारी गरेको छ । चारदिने नेपाल भ्रमणमा रहेका जाइकाका उपाध्यक्ष तोसियुकी कुरोगानागीले निकट भविष्यमा काठमाडौँ उपत्यका र यस आसपासका क्षेत्रको आर्थिक विकासलाई गति दिन उक्त सडकमा लगानी गर्ने तयारी गरेको बताउनुभयो । जाइकाद्वारा आयोजित पत्रकार सम्मलेनमा उहाँले सिन्धुली–बर्दिवास सडक नेपालकै नमुना बाटोका रुपमा परिचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “उक्त बाटोले नेपालको सामाजिक–आर्थिक विकासका लागि ठूलो भूमिका खेल्नेछ ।” नेपालमा छिटोभन्दा छिटो संविधान जारी होस् भन्ने इच्छा व्यक्त गर्दै उपाध्यक्ष कुरोगानागीले पूर्वाधार, शिक्षा तथा सामाजिक विकासमा जाइकाले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव ईश्वरराज पौडेले स्थानीयस्तरमा सञ्चालन गरिएका जाइकाको कार्यक्रम सफल रहेको बताउनुभयो । जाइकाका नेपाल प्रमुख चुतोमु सिमिजुले नेपाललाई सङ्क्रमणकालबाट सङ्घीय गणतन्त्रमा रुपान्तरण गर्न जापानी स्रोत र प्रविधि उपयोग गरी जाइका नेपालले नेपाली जनतालाई गर्दै आएको सहयोगलाई निरन्तरता दिइने बताउनुभयो । जापान सरकारको सहयोगमा सिन्धुली बर्दिवास सडक आगामी वर्ष पूरा गर्ने लक्ष्य राखिएको छ ।