मोदी स्थलमार्गबाट नेपाल आउने भएपछि सीमावर्ती बजारमा पनि स्वागतमा कार्यक्रम


PM Modi in Nepalभारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट भिठ्ठामोड नाका भएर जनकपुर आउने कार्यक्रम भएपछि सीमावर्ती भारतीय बजार सुरसण्ड र भिठ्ठामोडवासी मोदीको स्वागत गर्न तैयारीमा जुटेका छन् । भारतीय जनता पार्टी(भाजपा) समर्थित नेता तथा कार्यकर्ता मोदीको स्वागत गर्न भारतीय सहर सुरसण्डमा भव्य तयारीमा जुटेका छन् भने सहरको ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गर्ने भएका छन् । प्रधानमन्त्री मोदी आउने दिन मङ्सिर ९ गते सुरसण्ड बजारस्थित अम्बेडकर चोकमा मोदीको भव्य स्वागत गरिने कार्यक्रम तय भएको छ भाजपाका राष्ट्रिय परिषद् सदस्य तथा सुरसण्ड प्रमुख मनिषकुमार गुप्ताले भन्नुभयो “प्रधानमन्त्री मोदीको स्वागतमा कुनै कसर बाँकी रहँदैन ।” सुरसरण्डको करबोनादेखि भिठ्ठमोडसम्म करिब २० किलोमिटरको दूरी क्षेत्रमा मोदीको स्वागत गर्न सर्वसाधारण सडकमा आउने छन् भाजपा समर्थित सुरसण्डका व्यापारी विनोदकुमार गुप्ता भन्नुहुन्छ प्रधानमन्त्री मोदीलाई फूलमाला, ब्यान्डबाजाले भव्यरूपमा स्वागत गरिने छ । प्रधानमन्त्री मोदी भिठ्ठमोड नाकाबाट स्थलमार्ग हुँदै महोत्तरीको जलेश्वरस्थित शेरगण ब्यारेक प्रकौलीमा पुग्ने कार्यक्रम रहेको छ । मोदीलाई ब्यारेकबाट नेपाली सेनाको हेलिकोप्टरमा जनकपुरको ऐतिहासिक बारहबिघामा उतार्ने कार्यक्रम तय भएको छ । यसका लागि प्रकौली ब्यारेकभित्र एउटा ब्यारेक अगाडि खेल मैदानमा दुई वटा गरी तीनवटा हेलिप्याड बनाइएको छ । ब्यारेकभित्र प्रशस्त ठाउँ नरहेकाले दुई वटा हेलिप्याड ब्यारेक बाहिर बनाइएको छ । अहिलेसम्मको तय भएको कार्यक्रमअन्तर्गत प्रधनमन्त्री मोदी बारहबिघाबाट जानकी मन्दिरमा गई पूजापठ गर्ने कार्यक्रम रहेको छ । भारतको अयोध्याबाट भगवान श्रीरामको जन्ती मङ्सिर ८ गते जनकपुर आउने र वैवाहिक कार्यक्रम हुने तय भएको जानकी मन्दिरका पदाधिकारीको भनाइ रहेको छ ।
लुम्बिनीमा तयारी पूरा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका आमन्त्रित विशिष्ट पाहुनाको लुम्बिनी भ्रमण नजिकिँदै गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा जीर्ण भौतिक पूर्वाधार निर्माण गर्ने तथा अन्य तयारीको काम अन्तिम अवस्थामा पुगेको छ । आगामी मङ्सिर १० र ११ गते काठमाडाँैमा हुने १८आँै सार्क शिखर सम्मेलनका अवसरमा लुम्बिनीमा आउने पाहुनाको सत्कार र सम्मानका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरलगायतका संरचनालाई सिङ्गार्नुका साथै सरसफाइ तथा सुरक्षा प्रबन्धको काम व्यापक बनाइएको छ । सार्क सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलगायत भुटानी राजा र श्रीलङ्काली प्रधानमन्त्रीले लुम्बिनीको अवलोकन भ्रमण गर्ने भएपछि विश्व शान्तिको मुहान लुम्बिनीलाई सिङ्गारिएको हो । लुम्बिनीमा गर्नुपर्ने काम लगभग सकिनै लागेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी आउने विशिष्ट पाहुना मायादेवी मन्दिरको अवलोकनपछि अन्य कार्यमा सरिक हुने जनाइएको छ । विशिष्ट पाहुना लुम्बिनी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिनुभयो । उहाँले पाहुनाहरूको भ्रमणलाई सहज र सुरक्षित बनाउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदी विशेष हेलिकप्टरबाट लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी तथा श्रीलङ्काली राष्ट्रपति महेन्द्र राजापाक्षे आउने भएपछि उहाँहरूको सुरक्षाका लागि सुरक्षा रणनीतिअनुसार सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको रूपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो । नेपाली सुरक्षाकर्मीले चारवटा घेरामा भारतीय प्रधानमन्त्रीको सुरक्षा गर्ने जनाएको छ । लुम्बिनीको मायादेवी मन्दिर अवलोकन गर्ने क्रममा मोदीको सुरक्षा नेपाली सेना गर्नेछ । भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा करिब २०० नेपाली सेना, ५०० सशस्त्र र ५०० जनपद प्रहरी तैनाथ रहने प्रहरी स्रोतको भनाइ छ । सुरक्षाको पहिलो घेरामा मोदीका सुरक्षाकर्मी रहनेछन् भने दोस्रो घेरामा नेपाली सेना, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाल प्रहरी खटिने छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले विशिष्ट व्यक्तिको भ्रमणलाई लक्ष्यित गरेर मायादेवी मन्दिर, पवित्र उद्यान क्षेत्रमा रहेका ठूलाठूला चारवटा पोखरी, सर्कुलर लेवी, सडक तथा केन्द्रीय नहर सफा गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले गर्नुपर्ने सम्पूर्ण काम तीव्र गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार समग्र लुम्बिनीको सरसफाइ र भारतीय प्रधानमन्त्रीसहित भुटानी राजा र श्रीलङ्काली प्रधानमन्त्रीको भ्रमणका लागि सरकारसँग रु एक करोड पाँच लाख माग गरिएको छ । सरकारले अहिलेसम्म रकम उपलब्ध नगराएको कोषले जनाएको छ । सरकारले उपलब्ध गराए त्यही रकम खर्चेर कार्यक्रम गर्ने नभए कोषको आन्तरिक बजेटबाट कार्यक्रम सम्पन्न गर्ने सोचमा कोष पुगेको छ । लुम्बिनीमा मोदीको भ्रमणका लागि गरिने सबै तयारी तीव्र गतिमा अघि बढाइएको कोषले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?