चलचित्र कार्यशाला २०१५ रोल्पामा हुने, १० वटा चलचित्र त्यहीँ बनाएर प्रदर्शन गरिने


movieअन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ रोल्पामा हुने भएको छ । आगामी माघ २२ देखि फागुन १ गतेसम्म रोल्पाको सदरमुकाम लिबाङमा अखिल नेपाल चलचित्रकर्मी सङ्घको आयोजनामा पहिलोपटक कार्यशाला हुन लागेको हो । कार्यशालालाई भव्यतापूर्वक सफल पार्न शनिबार सदरमुकाम लिबाङमा चेतन कुँवरको संयोजकत्वमा १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्लास्थित पत्रकार, साहित्यकार, उद्यमी, व्यवसायी, कलाकार तथा राजनीतिक दलका प्रतिनिधि रहेका छन् । सम्भाव्यता अध्ययन गर्न रोल्पा आउनुभएका सङ्घका अध्यक्ष केपी पाठक र उपाध्यक्ष अग्रज केसीले शनिबार पत्रकार सम्मेलन गरी कार्यशालाबारे जानकारी गराउनुभयो । अध्यक्ष पाठकले रोल्पा जिल्लाको पर्यटन, कला, संस्कृति र विविधतालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यशालाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुुभयो । उहाँले स्थानीय व्यवस्थापन समितिले कार्यशाला सफल पार्न यातायात, प्रचारप्रसार, बसोवास, खानपिनलगायत सम्पूर्ण जिम्मेवारी बहन गर्ने जानकारी दिनुभयो । नौ दिनसम्म चल्ने कार्यशालाका क्रममा रोल्पाली कला, संस्कृति, पर्यटन र यहाँको सामाजिक अन्तद्र्वन्द्वमा आधारित विभिन्न १० वटा चलचित्रको छायाङ्कन गरी जिल्लामै प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । त्यस अवधिमा रोल्पाको ऐतिहासिक, राजनीतिक, पर्यटकीय एवम् विविध महत्व बोकेको विभिन्न स्थानमा पुगी सोही परिवेशमा आधारित कथावस्तु समावेश भएका चलचित्र निर्माण गरिने बताइएको छ । कार्यशालामा चलचित्र उद्योगमा काम गरिरहेका ५० जना नेपाली चलचित्रकर्मी, राष्ट्रियस्तर तथा जिल्लास्तरका पत्रकार, साहित्यकार, कलाकार, उद्यमीलगायतको सहभागिता रहने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?