माघ ८ मैै संविधान जारी हुने एमाले अध्यक्षको भनाइ, संवाद समितिका सभापतिका कारण विलम्ब भएपनि समयमै संविधान दिन एमाले प्रतिबद्ध
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा संविधान जारी हुने बताउनुभएको छ । नेकपा (एमाले) इलामको मङ्गलबारदेखि सुरू हुने नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न इलाम आइपुग्नुभएका अध्यक्ष ओलीले कुराकानी गर्नुहुँदै राजनीतिक संवाद समितिका सभापतिको विलम्ब, आनाकानी र ढिलासुस्तीका कारण अलमल भएपनि माघ ८ गते संविधान जारी गरेरै छाड्ने बताउनुभयो । उहाँले संविधान जारी गर्ने कुरामा एमाले बाधक नबन्नेसमेत प्रष्ट पार्नुभयो । संविधान निर्माण प्रक्रियामा एनेकपा (माओवादी)ले अवरोध खडा गरिरहेको बताउँदै संवाद समितिका अध्यक्ष डा बाबुराम भट्टराईले संवाद समितिमा माओवादीका कार्यकर्ताको जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो । संवाद समितिका सभापति डा भट्टराईका कारणले संविधानको मस्यौदा मङ्सिर १ गतेसम्म जनतामाझ जानुपर्ने भएपनि ढिलाइ भइरहेको टिप्पणी गर्नुभयो । नेपाली काँग्रेस, एमाले र एनेकपा माआवादीबीच सुरू भएको बैठकमा पनि यही विषयमा छलफल भएको छ, ओलीले भन्नुभयो “संविधान बनाउन नदिने षडयन्त्रमा लागेका दललाई परास्त गरेर पनि संविधान जारी गर्छाैं ।” संवाद समितिका सभापतिको ढिलासुस्तीका कारण संविधानको मस्यौदामा ढिलाइ भएको उहाँले बताउनुभयो । बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सभापति भट्टराईलाई प्रतिवेदन र जे जस्तो कुरा आएको छ, त्यो पठाउनुहोस् भनेर निर्देशन दिएको समेत अध्यक्ष ओलीले बताउनुभयो ।