वनको रुखमा एउटै पासोमा दुईजनाको आत्महत्या, २६ वर्षीय गीतासार्की र भीमबहादुर सार्कीको मृत्यु
कैलालीको लम्की–चुहा नगरपालिकाको मोहन्याल सामुदायिक वनको रुखमा दुई जनाले एउटै पासोमा गएराति आत्महत्या गरेका छन् । बर्दिया जिल्ला कालिका गाविस–५ की २६ वर्षीया गीता सार्की र नातामा मामाका छोरा पर्ने लम्की–चुहा नगरपालिका–६ का २६ वर्षीय भीमबहादुर सार्कीले जामुनको रुखमा एउटै पासोमा झुन्डिइ आत्महत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले आज जनाएको छ । घटनाको प्रारम्भिक अध्ययनबाट यी दुवैबीच अनैतिक सम्बन्ध भएको समाजले थाहा पाएपछि दोपट्टाले पासोलगाई सामूहिक आत्महत्या गरेको देखिएको प्रहरी निरीक्षक जगन्नाथ खनालले बताउनुभयो । विवाहित भीमको घरमा श्रीमती र छोराछोरी रहेका छन् । यस्तै बर्दिया घर भएकी गीताको घरमा पनि श्रीमान् र छोराछोरी रहेको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।