पर्यटकको चापसँगै घरबास सञ्चालनमा, कीर्तिपुरको परम्परागत घरमा रमाए पर्यटक
पर्यटकको बढ्दो चापसँगै पर्यटक सूचना केन्द्र कीर्तिपुरको पहलमा कीर्तिपुरमा घरबास (होमस्टे) सेवा सञ्चालन गरिएको छ । कीर्तिपुरमा दैनिक रुपमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सुविधालाई ध्यानमा राखी घरबास सेवा सञ्चालनमा ल्याइएको हो । कीर्तिपुर पर्यटक सूचना केन्द्रका सचिव वीरेन्द्र शाक्यका अनुसार यस क्षेत्रका पर्यटकीयस्थल सम्बन्धमा जानकारी गराउन गत वर्ष माघदेखि कीर्तिपुर पर्यटन सूचना केन्द्र सञ्चालन गरिएकोमा त्यसको प्रभावकारिता पनि दिनप्रतिदिन बढ्दै गएको छ । विशेष गरी जर्मन, फ्रेन्चलगायतका विभिन्न देशबाट आउने पर्यटकले कीर्तिपुर क्षेत्रको भ्रमण गरेको जानकारी गराउँदै उहाँले पर्यटकको बढ्दो चापका कारण घरबास सञ्चालनको थालनी गरिएको बताउनुभयो । पछिल्लो समयमा दैनिक लगभग १०० को सङ्ख्यामा विदेशी पर्यटकले कीर्तिपुरको भ्रमण गर्ने गरेको शाक्यको भनाइ छ । ऐतिहासिकस्थलका रुपमा चर्चित कीर्तिपुर नेपालका प्राचीन बस्तीमध्येको एक भएका कारण पनि यहाँको ऐतिहासिकता पर्यटकको आकर्षणको विषय भएको हो । गोपाल वंशदेखि नै बस्ती विकास भएको मानिने कीर्तिपुरका एक ग्वालाको गाईले पशुपतिको उत्पत्ति भएको ठाउँमा दूध चढाएको लगायतका प्राचीन किंवदन्तीले पनि यसको ऐतिहासिक महत्वलाई उजागर गराएको कीर्तिपुरका स्थानीयवासी राजेन महर्जनको भनाइ छ । काठमाडाँै दक्षिणभेगका विभिन्न आठवटा गाविसलाई मिलाएर २०५३ चैत १४ मा नगरपालिका बनाइएको कीर्तिपुर पर्यटकीय सम्भावना धेरै भएर पनि अपेक्षित विकास हुन नसकेको उहाँले बताउनुभयो । सांस्कृतिक तथा धार्मिक रुपमा यहाँ प्रचलित विभिन्न जात्रा पर्व तथा संस्कृतिहरू यस क्षेत्रकै वास्तविक पहिचानका रुपमा स्थापित भएका छन् । कीर्तिपुरको शीर जस्तो भएर रहेको २२५० मिटर उचाइमा रहेको चम्पादेवी मन्दिर, टौदह, वास्तुकलाका अनुपम उदाहरणका रुपमा रहेका बाघभैरव, उमा महेश्वर, इन्द्रायणीका साथै प्रसिद्ध चिलँञ्चो चैत्य, शिखर शैलीका शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिरले विशेष गरी पर्यटकलाई कीर्तिपुरमा आउन लोभ्याएका छन् । विगतमा कीर्तिपुर आउने पर्यटकले यहाँका दर्शनीय ठाउँहरू सूचना केन्द्रको अभावमा जानकारी नपाएर नहेरी फर्कनुपरेको बाध्यतालाई सूचना केन्द्रको स्थापनाले धेरै हटाएका कारण कीर्तिपुरमा पर्यटकको सङ्ख्या बढेको सचिव शाक्यले बताउनुभयो । पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएको घरबास सेवाले पर्यटकको आकर्षण अझै बढ्ने विश्वास लिइएको छ ।