चौवीस घण्टासम्म झडप गरी प्रहरीले नियन्त्रणमा लियो रामपाल बाबा
भारतीय प्रहरीले उत्तर भारतमा अवस्थित एक आश्रमबाट बुधबार अबेर राति ६३ वर्षीय रामपाल महाराज नामक एक गुरुलाई पक्राउ गरेको छ । उत्तरी हरियाणा राज्य एक आश्रमबाट बुधबार अबेर राति उनी पक्राउ परेका हुन् । पक्राउ वारेन्ट जारी भएपछि उनका समर्थक र प्रहरीबीच २४ घण्टा भन्दा बढी समयसम्म जारी रहेको झडपपछि उनी पक्राउ परेका छन् । सो झडपको क्रममा प्रहरीले आश्रमबाट पाँच व्यक्तिको शव बरामद समेत गरेका थिए । ती शवहरू एक बालक र चार महिलाको रहेको थियो । एक पुरुषको भने हृदयघातको कारण उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । पक्राउ पूर्जी जारी गरिएका रामपाललाई सो आश्रममा उनका समर्थकले लुकाएर राखेका थिए । हत्या, जालसाजीलगायत र अन्य विभिन्न आरोपमा एक अदालतले पक्राउको आदेश जारी गरेपछि गत मङ्गलबारदेखि नै आश्रमस्थित उनका सयौं समर्थकले विरोध प्रदर्शन गर्नुको साथै प्रहरी भ्यान आगजनीलगायत विभिन्न हिंसा मच्चाउँदै आएका थिए । रामपाल समर्थक सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा अश्रूग्याससमेत प्रयोग गर्नुपरेको थियो । आश्रमबाट प्रहरीका अनुसार २५० निजी सैनिकसहित ५ सय भन्दा बढी रामपालका भक्तहरूलाई रामपालसँग पक्राउ गरिएको छ ।