राष्ट्रपति र प्रचण्डबीच भेट, संविधान लेखनका विषयमा भएका प्रगतिको चर्चा


prachanda rambaranराष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको समसामयिक विषय र संविधान निर्माणका बारेमा छलफल भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा संविधान निर्माणमा भइरहेको पछिल्लो प्रगतिबारे राष्ट्रपति डा यादवले प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालसँग जिज्ञासा राख्नुभएको थियो । राष्ट्रपतिको जिज्ञासाको जवाफमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी सहमतिमै संविधान निर्माण प्रक्रिया अगाडि बढोस् भन्ने पक्षमा रहेको भए पनि सरकारमा रहेका दलको व्यवहार त्यतातिर केन्द्रित नरहेको, बरु बहुमतको आधारमा नै अगाडि बढ्ने प्रयत्नमा रहेको बताउनुुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । विगतमा दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न समयमा सहमति नै संविधान निर्माणको आधार भए पनि सत्तारुढ दलले पूर्व प्रतिबद्धता भुलेका कारण समस्या पैदा भएको दाहालले बताउनुभएको थियो । शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ताको हैसियतले आगामी माघ ८ गतेभित्रै संविधान लेखनको कामलाई पूर्णता दिन एमाओवादीको तर्फबाट आवश्यक लचकता अपनाउन तयार रहेको समेत अध्यक्ष दाहालले राष्ट्रपति डा यादवलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति डा यादवले सहमतिमै संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याई जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?