सार्क स्थायी समितिको बैठक आज पनि जारी, यसपछि मन्त्रीस्तरीय बैठक बस्ने


?????????????????????????????????????????????????????????????????दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ आँै शिखर सम्मेलनको तयारीस्वरुप आइतबारदेखि सुरु भएको सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरीय स्थायी समितिको ४१ औँ बैठक आज पनि जारी छ । आज बिहान यहाँ सुरु भएको बैठकमा सहसचिवस्तरीय कार्यक्रम समितिद्वारा प्रस्तुत ४६, ४७, ४८ र ४९ औँ बैठकका प्रतिवेदनमाथि छलफल चलिरहेको छ । सोल्टी होटलमा भइरहेको यो बैठकमा दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) तथा दक्षिण एसियाली सेवा व्यापार (एसएटिआइएस) सहित आर्थिक तथा वित्तीय सहयोगबारे छलफल भइरहेको थाहाभएको छ । त्यसैगरी, बैठकमा सार्क विकास कोषलाई क्षेत्रीय विकासमा प्रभावकारी उपयोग गर्ने विषयमा विचार विमर्श हुनाका साथै गरिबी निवारण, सूचना तथा सञ्चार र यातायात सम्पर्कका विषयमा पनि ठोस निर्णय लिइने बताइएको छ । सार्क राष्ट्रका सबै सदस्य मुलुक सहभागी उक्त बैठकमा हिजो माल्दिभ्सका परराष्ट्र सचिव तथा उक्त देशका प्रतिनिधिमण्डलका नेता अली नसेर मोहम्मदले स्थायी समितिको अध्यक्ष पद नेपालका कामु परराष्ट्र सचिव शङ्करदास बैरागीलाई हस्तान्तरण गरेपछि बैठक प्रारम्भ भएको थियो । आज सम्पन्न हुने स्थायी समितिको यो बैठकले भोलि मङ्गलबार यहाँ हुने सार्क मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।
यसैबीच, यसैबीच, सार्क शिखर सम्मेलनका लागि सुरक्षा प्रबन्ध मिलाउने सिलसिलामा चितवनमा दुई सुरक्षा पोस्ट स्थापना गरिएका छन् । जनपद प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली रहने गरी पोस्ट स्थापना गरेर जाँचमा कडाइ गरिएको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो । विशेष गरी चितवनको मुख्य नाका मानिने पूर्वतर्फ लोथरमा र राजधानी जाने नाका चितवनको मुग्लिनमा पोस्ट स्थापना गरिएका हुन् । प्रत्येक पोस्टमा कम्तीमा आठजना प्रहरी राखिएका छन् । राजधानीमा विस्फोटक पदार्थ र साना हातहतियार भित्रिन सक्ने भन्दै परीक्षणका लागि विशेष विद्युतीययन्त्रसहित प्रहरी परिचालन गरिएको थापाले जानकारी दिनुभयो । चितवन प्रशासनले मुख्य राजमार्गसँगै सीमा क्षेत्रमा समेत कडाइ गरेको जनाएको छ । अहिले राजमार्गमा आवतजावत गर्ने सवारीमा समेत सुरक्षा कडा पारिएको छ भने निश्चित स्थानमा मात्रै सवारी रोक्न दिइने भएको छ । केन्द्रबाट सीमा र राजमार्गलाई विशेष निगरानीका लागि निर्देशन आएकाले सोहीअनुरुप सुरक्षा परिचालन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?