बाइस दलीय मोर्चाको पत्रकार सम्मेलन, एमाले र काँग्रेसको शीर्ष नेतृत्वका कारण सहमति भाँडिएको प्रचण्डको ठहर


???????????????????????????????????एकीकृत नेकपा(माओवादी) नेतृत्वको २२ दलीय मोर्चाले नेपाली काँग्रेस र नेकपा(एमाले)का कारण संविधान निर्माण प्रक्रिया सङ्कटको भूमरीमा फसेको आरोप लगाएको छ । प्रमुख दलहरूबीच भएको १२बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता तथा विभिन्न पक्षबीच भएका सहमतिलाई च्यातेर आफूखुसी चल्न खोज्ने प्रवृत्तिका कारण मुलुकको राजनीतिक प्रक्रियामा सङ्कट उत्पन्न भएको मोर्चाको जिकिर गरेको छ । पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएको सबै सहमति र सम्झौताको दस्तावेज अन्तरिम संविधान भएकाले त्यसको मर्म र भावनालाई आत्मसात् गर्न काँग्रेस र एमालेलगायतका दललाई आग्रह गर्नुभयो । ‘‘सम्झौता र सहमतिलाई केही होइन, मान्नु पर्दैन र हामीले जे गरेपनि हुन्छ भन्ने मान्यताका आधारमा चल्न खोज्ने प्रवृत्ति सत्ताधारी दलमा देखियो, जुन प्रवृत्तिले अग्रगमन र शान्ति प्रक्रियालाई सङ्कटमा धकेलिदिएको छ । हामी त्यसो हुन दिने पक्षमा छैनौं’’ अध्यक्ष दाहालले भन्नुभयो । हिजो माओवादीसँग सम्झौता ग¥यो भनेर गिरिजाप्रसाद कोइरालालाई गाली गर्नेहरू नै आज काँग्रेसको नेतृत्वमा पुगेको र संविधानसभा हाम्रो एजेण्डा होइन भन्दै सार्वजनिक भाषण गर्नेहरू एमालेको सर्वोच्च स्थानमा रहेका कारण सहमतीय प्रक्रियामा संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको जिकिर थियो । अझै पनि माघ ८ गतेभित्र संविधान निर्माण प्रक्रिया अन्त्य भइसक्यो भनेर भनिहाल्ने बेला नभएको तर्क गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले आगामी दिन कस्तो हुने भन्ने विषय सत्तारुढ दलको हातमा नै रहेको बताउनुभयो । सत्तारुढ दलको तर्फबाट संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरिएको नौबुँदे प्रस्ताव यथास्थितिवादी भएको र सङ्घीयताको नाममा विकेन्द्रिकरण तथा भौगोलिक विभाजन मात्रै भएकाले त्यसलाई स्वीकार गर्न सकिदैन भन्नुभयो । सहमतिका आधारमा संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको बेला यही मङ्सिर १ गते सरकारमा रहेका दलका तर्फ संवाद समितिमा ४३ जनाको हस्ताक्षर पेस गर्नु मुठभेड निम्त्याउने मेलो भएको अध्यक्ष दाहालको भनाइ थियो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूले सत्तारुढ दलको प्रस्ताव अनुसूचीमा राखेर पठाउन मात्रै आफू सहमत भएको तर त्यसलाई सहमति नै भइसक्यो भनेर गलत प्रचार भएको भन्दै उहाँले रोष प्रकट गर्नुभयो ।
सार्क सम्मेलन सफल पार्न लाग्ने
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सफल बनाउन २२ दलीय मोर्चाले नै विशेष पहल गर्ने बताउनुभयो । नेपालको राजनीतिक परिवर्तनले विश्व समुदायमा पारेको सकारात्मक प्रभावलाई सार्क क्षेत्रमा प्रचारप्रसार गर्नु जरुरत रहेकामा जोड दिँदै यस क्षेत्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुख प्रमुखलाई न्यानो स्वागत गर्न आफूहरू तयार रहेको धारणा राख्नुभयो । सार्क शिखर सम्मेलन मुलुकको प्रतिष्ठासँग जोडिएकाले पक्ष विपक्षमा नलागी सफल बनाउन लाग्नुपर्ने र त्यसका लागि प्रतिपक्षी दलहरू पनि केन्द्रिकृत भएर लागेको जानकारी दिनुभयो । यसैगरी सडक दुर्घटनाका कारण पछिल्लो दिनमा ३०० को हाराहारीमा नागरिकको ज्यान गएकामा सरकारी निकायले उचित ध्यान दिन नसकेको भन्दै दोषीहरूमाथि कडा कारबाही गर्न मोर्चाले माग गरेको छ । सो अवसरमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माण नहुँदासम्म कुनै पनि मधेसी दल सरकारमा सहभागी नहुने धारणा राख्नुभयो । ‘‘हामी कुनै पनि हालतमा सरकारमा जाँदैनौ, त्यस खालको प्रचार पूर्णत गलत छ’’ उहाँले भन्नुभयो । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले प्रमुख दलहरूबीच विवादित विषयमा एकमत नभई आफूले संविधानसभामा प्रस्ताव पठाउन नसक्ने बताउनुभयो । उहाँले प्रक्रियामा जाने भए पनि सहमति हुनपर्छ । सहमति जुटाउनका लागि सहमति नै जरुरत पर्दछ । दलहरूबीच संवाद जारी रहेका कारण सहमति हुनेमा आफू अझै आशावादी रहेको उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?