अमेरिकी प्रहरीद्वारा खेलौना बन्दुक बोकेका बाह्र वर्षे बालकको गोली प्रहार गरी हत्या
अमेरिकी नगर क्लिभल्यान्डमा एक बालखेल मैदानमा खेलौना बन्दुक हल्लाइरहेका एक बालकलाई निजले वास्तविक बन्दुक बोकेको ठानी प्रहरीले गोली प्रहार गरि हत्या गरेको जानकारी अधिकारी तथा समाचारपत्रले आइतबार दिइएका छन् । अमेरिकामा एक गोरा प्रहरीले अगस्तमा मिसौरीको फर्गसनको बाहिरी भागमा सेन्ट लुइसमा निरस्त्र एक काला नवयुवकलाई गोली हानी हत्या गरेको विषयमा निज प्रहरी दोषी हुन् वा होइनन् भन्ने विषयमा निर्णायक समूहले आफ्नो राय दिन लागेको समयमा ओहियोमा यो घटना भएको हो । फर्गसनको घटनाले अमेरिकामा जातीय तनाव उच्च भएको थियो । ओहियोमै अगस्त महिनामा प्रहरीले ९११ मा प्राप्त गरेको टेलिफोनका आधारमा एक काला व्यक्ति जन क्राउफोर्डलाई गोली प्रहार गरी हत्या गरेका थिए । क्राउफोर्ड उक्त समयमा सोही स्थानको वालमार्ट पसलबाट एक खेलौना बन्दुक किनेर बाहिर आएका थिए । यस घटनामा प्रहरीलाई यी बालकले मानिसहरूमाथि बन्दुक सोझ्याएको भन्ने सूचना प्राप्त भएको थियो र प्रहरीले पनि यी बालकमाथि दुई गोली प्रहार गरेका थिए । यस प्रशासकीय क्षेत्रका चिकित्सा अधिकारीले यी बालकको नाम तामिर राइस भएको बताए । उनको आइतबार मृत्यु भएको स्थानीय समाचारपत्र द प्लेन डिलरले उल्लेख गरेको छ । प्रहरीको ९११ मा प्राप्त सूचनामा यी बालकले नक्कली बन्दुक पनि लिएको हुनसक्ने आशङ्का व्यक्त गरिएको थियो । यी दुबै प्रहरीलाई हाल अनुसन्धानका लागि प्रशासनिक बिदामा राखिएको क्लिभल्यान्ड प्रहरीले एक विज्ञप्ति प्रकाशन गरि जानकारी दिएको छ । प्रहरी घटनास्थल आएपछि उनीहरूले यी बालकलाई आफ्नो हात उठाउन आदेश दिएको तर निजले नमानेकाले प्रहरीले निजमाथि गोली प्रहार गरेको बताइएको छ ।