सार्क राष्ट्रबीचको व्यापारले आपसी समझदारी र समृद्धि बढाउने – राष्ट्रपति गैयुम
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले दक्षिण एसियाली राष्ट्रहरूबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । अठारौँ सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वास नभइकन व्यापार बढ्न नसक्ने र यसका लागि नविनतम प्रविधि र सही नेतृत्व आवश्यक हुने बताउनुभयो । यस क्षेत्रका एक चौथाइ जनताको विश्वरङ्गमञ्चमा आवाज पुग्न नसकेको वास्तविकता औँल्याउँदै उहाँले यहाँका आवाजलाई विद्यमान परिस्थिति अनुकूल मुखरित गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न सम्भावना भएर पनि गरिबीले व्याप्त यस क्षेत्रको विकासमा विद्यमान सम्पदालाई अधिकतम रुपमा उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सार्क स्थापनाको ३० वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका धेरै क्षेत्रमा सहयोगको क्रम बढेको बताउँदै उहाँले सार्कको संस्थागत सुधारको प्रशंसा गर्नुभयो । आफू समुद्री सतहको देशबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देशमा आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो “हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण माल्दिभ्सलगायत यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि साझा प्रयास आवश्यक हुन्छ ।” जलवायु परिवर्तनको मुद्दा अहिले पछि परिरहेको उल्लेख गर्दै उहाँले यो मुद्दालाई उचित प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रलाई पहिलो प्राथमिकता दिने नीतिले यो क्षेत्रको सामूहिक आवाज विश्वमा पु¥याउन मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सार्क क्षेत्रका पर्याप्त सम्भावनाबारे कुनै शङ्का नरहेको चर्चा गर्दै राष्ट्रपति गैयुमले भन्नुभयो – हाम्रो विश्वासमा हामी अडिग हुनुपर्छ । दक्षिण एसियाली नेताहरूको हातमा अर्बौं मानिसको जनजीविकाको सवाल रहेको र यस क्षेत्रलाई विश्वकै एउटा शक्तिशाली क्षेत्रका रुपमा चिनाउन यहाँका नेताहरू सफल हुनेमा शङ्का नभएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।