सार्कको विकासका लागि सामूहिकरुपमा लाग्न पर्यवेक्षकको सुझाव


18th SAARC Summit kicks offदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा सहभागी पर्यवेक्षकहरूले सार्कको विकासका लागि सामूहिकरुपमा लाग्न सबै सार्क सदस्य राष्ट्रलाई सुझाव दिएका छन् । काठमाडौँमा सुरु भएको सो शिखर सम्मेलनमा पर्यवेक्षक राष्ट्रका रुपमा सम्बोधन गर्दै प्रतिनिधिहरूले हाल सार्क क्षेत्रमा विद्यमान आतङ्कवाद, गरिबीलगायतका समस्याको समाधानका लागि पनि सबैलाई सुझाव दिनुभयो । सार्कको पर्यवेक्षकका रुपमा बोल्दै अष्ट्रेलियाका ब्रेट म्यासनले दक्षिण एसिया धेरै सम्भावनाको खानी भएकाले यसलाई अर्थपूर्ण रुपमा उपयोगमा ल्याउन सबै राष्ट्रको सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । उहाँले सार्क देशहरूमा अष्ट्रेलियाले गरेको लगानी तथा सहयोगका बारेमा जानकारी दिँदै शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी गर्न दक्षिण एसियाली नेतालाई आग्रह पनि गर्नुभयो । यसैगरी चीनको पर्यवेक्षण समूहका प्रमुख लिउ जेनमिनले चीनले दक्षिणी एसियाली यस सङ्गठन तथा यस क्षेत्रका देशहरूमा कृषि, विपद् व्यवस्थापन, आर्थिक विकास, विज्ञान प्रविधि एवम् प्रविधिको क्षेत्रमा विकास सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले चीनले आगामी दिनमा व्यापार र लगानीमा वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै दक्षिण एसियाली देशहरूसँग चीनको आपसी सौहार्दता रही आएको बताउनुभयो । चीनले दक्षिण एसिया शान्ति मञ्चका माध्यमबाट यस क्षेत्रमा शान्ति स्थापना र अन्य आर्थिक साझेदारीका कामहरू गर्न चाहेको पनि बताउनुभयो । यसैगरी इरानका अब्बास अखाउन्डीले दक्षिण एसिया निकै ठूलो युवा जनशक्ति भएको क्षेत्र भएकाले यो जनशक्तिको विकास गर्दै दक्षिण एसियाको सम्भावनालाई मध्य र पश्चिम एसियामा पनि जोड्न आग्रह गर्नुभयो । जापानको पर्यवेक्षण समूहका प्रमुख एवम् नेपालका लागि नेपाली राजदूत मासासी ओगावाले जापानले सार्क क्षेत्रलाई ऊर्जा, जनसम्पर्क, सुुशासन, प्रजातान्त्रीकरण, शान्ति स्थापनाजस्ता काममा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले जापानले आर्थिक विकासको सम्भावनाका क्षेत्रका बारेमा अध्ययन गर्ने भन्दै यस क्षेत्रमा रहेको ऊर्जाको उत्पादन र विस्तारको सम्भावनाको सदुपयोगका लागि आग्रह गर्नुभयो । त्यस्तै दक्षिण कोरियाका क्याङ सु लिले दक्षिण एसियाली क्षेत्र दक्षिण कोरियाको एक प्रमुख व्यापारिक साझेदार हो भन्दै आगामी दिनमा पनि उहाँ लगानीको निरन्तरता दिइने बताउनुभयो । उहाँले पछिल्लो समयमा कोरियाली कम्पनीले दक्षिण एसियाली क्षेत्रमा लगानी बढाइरहेको जानकारी दिँदै दक्षिण कोरियाको पूरै लगानीको कम्तीमा पनि २० प्रतिशत दक्षिण एसियामा नै रहेको बताउनुभयो । त्यस्तै म्यान्मारका प्रतिनिधि यु तिन उ लिविनले पछिल्लो समयमा दक्षिण एसियाले शान्ति र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले यस सङ्गठनमार्फत दक्षिण एसियाली राष्ट्रले शान्ति र समृद्धिका लागि सामूहिक एकताका साथ अघि बढ्न पनि सुझाउनुभयो । त्यसैगरी संयुक्त राज्य अमेरिकाका निसा देसाई विश्वासले दक्षिण एसियाले पछिल्लो समयमा आर्थिक विकास, प्रजातान्त्रीकरण र शान्ति स्थापनाका क्षेत्रमा गरिरहेको प्रगतिले विश्वमा यसको महत्वको थप पुष्टि गरिरहेको धारणा राख्नुभयो । यसका साथै उहाँले दक्षिण एसियाले आर्थिक मात्र नभई विभिन्न हिसाबले आफ्नो क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएको अतिवाद र आतङ्कवादको नियन्त्रणका लागि पनि थप ऐक्यबद्धताको जरुरत रहेको सुझाव दिनुभयो । सो सम्मेलनमा युरोपेली सङ्घका तर्फबाट आफ्नो धारणा राख्दै रेन्स्जे तेरिन्कले युरोपेली युनियनले यस वर्षदेखि सन् २०२० सम्मका लागि तीन अर्ब युरो दिने कार्यक्रम रहेको जानकारी पनि गराउनुभयो । उहाँले यस क्षेत्रमा पूर्वाधारको विकाससँगै आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिन सडक यातायातको विकास र अन्तरदेशीय रुपमा भन्सार सुविधालाई थप सहज बनाउन सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?