इजिप्टमा होस्नी मुबारकले पाए सफाई, मुबारक विरुद्धको प्रदर्शनमा दुईको मृत्यु
इजिप्टमा पूर्व राष्ट्रपति होस्नी मुबारकविरुद्वको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । सो झडपको क्रममा अन्य १३ जना घाइते भएको समेत जनाइएको छ । मुवारकलाई हत्या षड्यन्त्र र भ्रष्टाचारको आरोपबाट अदालतले मुक्त गरेको विरुद्धमा भएको प्रदर्शनको क्रममा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कायरोको प्रमुख व्यापारिक क्षेत्र ताहरिर स्क्वारमा हजारौ प्रदर्शनकारीले मुबारक विरुद्ध प्रदर्शन जारी राखेका थिए । सन् २०११ मा भएको मुबारक विरुद्ध जनआन्दोलनको क्रममा दुईसय ३९ व्यक्ति मारिएका र ती व्यक्तिहरुको आमहत्या आरोप उनीमाथि लगाइएको थियो । मुबारकले सन् २०११ को ११ फ्रेबुअरीमा राजिनामा दिनुअघि कयौं दिनसम्म सुरक्षाबलसँगको झडपमा करिब ८०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै एकहजार ५०० भन्दा बढी व्यक्ति घाइते भएका थिए । शनिबार इजिप्टको एक फौजदारी अदालतले मुबारकमाथि लागेको हत्या षड्यन्त्र र भ्रष्टाचार सवैबाट मुक्त भएको फैसला गरेलगत्तै त्यहाँ प्रदर्शन चर्किएको हो । मुबारक विरुद्ध प्रदर्शनको क्रममा घाइते भएकाहरुको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ ।