राष्ट्रिय सभागृह अब विशेष समारोहका लागि मात्र उपयोगमा ल्याइने, सार्क सौन्दर्य जोगाउने महानगरले विशेष अभियान चलाउने
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८आँै शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहलाई विशेष कार्यक्रमबाहेक अन्यका लागि प्रयोग गर्न नदिइने भएको छ । अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउन यहाँ लगभग रु २० करोड खर्च भएको हुनाले काठमाडौँ महानगरपालिकाले छुट्टै निर्देशिका बनाएर विशेष समारोहका लागि मात्र हल प्रयोग गर्न दिने तयारी गर्न लागेको महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले बताउनुभयो । शिखर सम्मेलनका लागि सरकारले सो हल लिएको हुनाले महानगरपालिकालाई फिर्ता हुने बित्तिकै निर्देशिका बनाएर हल सञ्चालन गरिनेसमेत उहाँले जानकारी दिनुभयो । सम्मेलनस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अहिले पनि सम्मेलनस्थलको सुरक्षा गरिरहेका छन् । त्यस्तै, महानगरपालिकाले सार्कका अवसरमा गमला र विभिन्न स्थानमा रोपेका बिरुवा चोरी गर्ने र तोडफोड गर्नेलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्ने जनाउ यसअघि नै दिइसकेको छ । सार्कका अवसरमा महानगरपालिकाले ५०० वटा गमला र विभिन्न खाली स्थानमा ४७५ वटा बिरुवा रोपेको थियो । ती बिरुवाको सुरक्षाका लागि प्रत्येक दिन महानगरपालिकाले पानी हाल्ने गरेको छ । रोपिएका बिरुवा संरक्षणका लागि बिहान ७ देखि १० बजेसम्म माइकिङसमेत गर्ने गरिएको छ । भर्खंरै सम्पन्न १८औँ सार्क शिखर सम्मेलन अगाडि रोपिएको बिरुवा भाँचिएको, बिरुवाका पात चुँडिएको र एउटा गमला फुटेको पाइएको बताउँदै महानगरपालिकाका प्रवक्ता पोखरेलले त्यस्तो खराब काम गर्नेलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्नेे जानकारी दिनुभयो ।