बिहेभोजमा विषाक्त भोजनका कारण बिरामी परेका ८० मध्ये ६५ अझै पनि अस्पतालमा
सुनसरी जिल्लाको खनार गाविससँग सीमा जोडिएको मोरङ जिल्लाको सिसवनी बडहरा–७ का टेकेन्द्र फुयालको विवाहको अघिल्लो दिन भोज खाएका आफन्त तथा इष्टमित्रमध्ये ६५ जना अझै उपचाररत छन् । कसार रोटी, दालभात र तरकारी खाएका ८० जना सिकिस्त बिरामी परेका थिए । तीन दिनअघि विवाहको अघिल्लो रात कसार बटार्ने र पूजापाठ सिध्याएर साँझको खाना खाने आफन्त छरछिमेक सबै रातिदेखि बिरामी परेका थिए । बेहुला टेकेन्द्रसहित १२ जना भने विवाहपछि घर फर्किसकेका छन् । उनी खनारस्थित नमुना अस्पतालमा स्लाइन पानी चढाउँदै जग्गेमा बसेर विवाह सिध्याएपछि पनि अस्पतालमा उपचार गर्न बाध्य भएका थिए । नोबेल मेडिकल कलेजमा उपचारार्थ भर्ना भएका फुयाल परिवार तथा आफन्त र छिमेकीको उपचारमा नोबेल मेडिकल कलेजले विशेषरूपमा ध्यान दिएकाले बिरामीहरू चाँडै स्वस्थ भइरहेको बताइएको छ । विवाहको अघिल्लो साँझ कसैले रोटीमात्र खाएको र उनीहरू पनि बिरामी भएकाले तरकारीमा विषादी भएको आशङ्का गरिएको थियो । तर तरकारी नखाएका आफन्तसमेत बिरामी परेपछि त्यहाँ प्रयोग गरिएको खुसी ब्रान्डको तेल विषादीयुक्त थियो कि भन्ने शङ्का जन्मेको छ । विवाह भोज खाएका बेहुलाका आफन्त तथा छिमेकीलाई खाएको तीन घन्टापछि टाउको दुख्ने, रिँगटा लाग्ने र झाडापखाला चल्नेजस्ता सङ्क्रमणले सताएपछि बाध्य भएर ती सबैलाई अस्पताल भर्ना गर्नुपरेको बेहुलाका आफन्तले बताएका छन् । बेहुला टेकेन्द्रकी दिदी सीता दाहालका अनुसार बिरामीमध्ये धेरैको स्वास्थ्यमा सुधार आइसकेको र अहिलेसम्म बेहुला टेकेन्द्रसहित १२ घर फर्किसकेका छन् । बेहोस अवस्थामा रहेका ११ वर्षीय मनोज भगतको पनि हिजोदेखि होस खुलेको छ ।