सहमतिमा नै संविधान बनाउनुपर्छ, महिलाको प्रतिनिधित्व राज्यका हरेक निकायमा हुनैपर्ने –सभापति डा भट्टराई


CPDCC Meetingसंविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले सहमतिमा नै संविधान लेखिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आयोजित अन्तरक्रियामा उहाँले सर्वमान्य संविधान निर्माण गरिनुपर्ने भएकाले सबैको सहमति आवश्यक रहेको बताउनुभयो । प्रमुख राजनीतिक दलबीच सहमति हुनेबित्तिकै संविधान बनाउन सकिने भन्दै डा भट्टराईले भन्नुभयो, ‘सबै दलले व्यक्तिगत विचार र दलीय स्वार्थलाई त्यागी देश र जनताको बारेमा सोचेर भएपनि सहमतिमा आउनैपर्छ ।’ सभापति भट्टराईले महिलाको प्रतिनिधित्व राज्यका हरेक निकायमा हुनैपर्ने र राजनीतिक प्रतिनिधित्वको सुनिश्चितताका लागि समानुपातिक निर्वाचन प्रणाली र हरेक राजनीतिक पार्टीमा महिलाको एकतिहाई प्रतिनिधित्व नभए पार्टी दर्ता नै हुन नसक्ने व्यवस्था गर्दा उपयुक्त हुने बताउनुभयो । नया“ संविधानमा नागरिकतासम्बन्धी प्रावधानमा आमा वा बाबु नेपाली नागरिक भए तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउनुपर्ने प्रावधान राख्नुपर्ने बताउँदै अहिले मस्यौदा समितिमा पुगिसकेको प्रतिवेदनमा आमा र बाबु दुबै नेपाली नागरिक भएको अवस्थामा मात्रै तिनका सन्तानले वंशजको नागरिकता पाउने भन्ने प्रावधान राखिनु ठूलो भूल भएको उल्लेख गर्नुभयो । कार्यक्रममा एमाओवादीका नेता खिमलाल देवकोटाले ‘अब बन्ने संविधानमा नागरिकताको सवाल र निर्वाचन’विषयक कार्यपत्र प्रस्तुत गर्दै नागरिकताका सवालमा भएका गल्तीलाई सच्याउँदै वंशजको नागरिकता पाउने प्रावधानमा आमा वा बाबु हुनुपर्ने र अङ्गीकृत नागरिकता प्राप्त गर्ने प्रावधान बुहारी र ज्वाईंलाई समान हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेत्री पुष्पा भुसाल, एमाओवादीका नेता देवी खड्का र नेकपा (एमाले) का नेता उषाकला राईले कार्यपत्रमाथि टिप्पणी गर्दै वंशजका आधारमा दिइने नागरिकता आमाको नामबाट पनि दिन सकिने प्रावधान कार्यान्वयनमा ल्याउनपर्ने र अङ्गीकृत नागरिकता प्राप्त गर्नेमा समेत महिलाले समान अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?