माघ ८ मा संविधान दिन काँग्रेस एमाले तयार, एमाओवादीसहितका अन्य दल पनि तयार हुनुपर्ने देउवाको भनाई
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघ ८ गते नै मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामलेसदरमुकाममा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता देउवाले निर्धारित समयमा संविधान जारी गर्न काँग्रेस, एमाले तयार रहेकाले माओवादीसहित २२ दलीय मोर्चा पनि सहमत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । संविधान निर्माणका धेरै विषयमा सहमति भएकाले मिल्न नसकेका केही बुँदालाई वार्ता र संवादको माध्यमद्वारा समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो । “संविधान निर्माणका लागि अझै डेढ महिना बाँकी रहेकाले सबै सहमतिका साथ अघि बढ्नुपर्छ, तोकिएको समयमा संविधान बनाएर देशलाई निकास दिनुपर्छ”–उहाँले भन्नुभयो । उहाँले संवाद समितिमा मुख्य विषय अड्किएकाले त्यसलाई अघि बढाउन समिति सभापति बाबुराम भट्टराईलाई आग्रह गर्नुभयो । नेपाल दलित सङ्घको मेची अञ्चलस्तरीय प्रशिक्षण तथा मेचीमहाकाली जनजागरण अभियानको उद्घाटनका लागि इलाम आइपुग्नुभएका नेता देउवाले संविधानका पक्षधर सबैलाई सहमति र लचिलो भएर अघि बढ्न आग्रह गर्नुभयो ।