मध्यावधि निर्वाचनको निम्ति तयार भयो जपान, प्रधानमन्त्री अबेलाई स्पष्ट बहुमत आवश्यक


japanजापानमा मङ्गलबारदेखि आमनिर्वाचनको अभियान सुरु भएको छ । संसदको तल्लो सभाको निर्वाचन यही डिसेम्बर १४ मा हुँदैछ । हालैमात्र सो संसद विघटन गरिएको थियो । जापानी प्रधानमन्त्री सिन्जो अबेले आह्वान गर्नुभएको मध्यावधि निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन अभियान मङ्गलबारदेखि सुरु भएको हो । प्रधानमन्त्री अबेले नयाँ र ताजा जनमतमा जानुपर्ने अवस्था आएको भन्दै नयाँ निर्वाचनको घोषणा गर्नुभएको थियो । यही नोभेम्बर २१ मा संसद विघटन गरी नयाँ निर्वाचनको मिति उहाँले तोक्नुभएको हो । उहाँले यसअघि आफूले अघि सारेको आर्थिक विकासका साथै कर प्रणालीसम्बन्धी कार्यक्रममा सफलता प्राप्त हुन नसकेको भन्दै वर्तमान संसदमा आफ्नो स्पष्ट बहुमत चाहिएकोले संसद विघटन गर्नुभएको हो । जापानी प्रधानमन्त्रीको वर्तमान कार्यकाल अझै दुईवर्ष बाँकी नै रहँदा उहाँले अर्काे निर्वाचनको घोषणा गर्नुभएको हो । उहाँले यो कार्यकालका लागि प्रधानमन्त्री भएको समयमा अलग्गै आर्थिक कार्यक्रम (अबेनोमिक्स) को घोषणा गर्नुभएको थियो । तर केही समययता जापान आर्थिक मन्दीमा फसेको बताइएको छ । जापानमा आर्थिक विकासका विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा पुग्नुभएको उहाँले आफूले चाहेको काम गर्न संसदबाटै सम्भव नभएको बताउनुभएको छ । उहाँले आर्थिक मन्दीबाट जापानलाई माथि उठाउनका लागि यस मध्यावधि निर्वाचनको घोषणा गरिएको भन्दै यसलाई जनमत सङ्ग्रहको संज्ञा दिनुभएको छ । मङ्गलबार निर्वाचन अभियानको सुरुवात गर्दै उहाँले निर्वाचनमा बहुमत दिई आफ्नो योजनालाई सफल बनाउन सबै जापानी नागरिकलाई आह्वान गर्नुभएको छ । मङ्गलबार जापानी उत्तरी पोर्ट सहर सोमाबाट प्रधानमन्त्री अबेले सो निर्वाचनको अभियान थाल्नुभएको हो । उक्त सहर सन् २०११ को सुनामीबाट फुटेको दाइची अणुऊर्जा केन्द्रबाट ४० किलोमिटर मात्र टाढा पर्दछ । सो निर्वाचन अभियान सुरुगर्दै उहाँले भन्नुभयो– हामीले निर्वाचन जित्नेछौं, यद्यपि यो प्रतिस्पर्धात्मक नै हुनेछ । उहाँले एकपटक अफूले पुनः निर्वाचन जितेर जापानलाई संसारमा नै चम्किलो देश बनाइने प्रण पनि सो अवसरमा गर्नुभयो । उहाँमाथि पछिल्लो समयमा विशेषगरी बिक्री करका बारेमा नीति अख्तियार गर्न अप्ठेरोपरेको थियो । सो करवृद्धिको योजनामा जापानी संसदले अनुमति नदिएपछि उहाँले निर्वाचनमा जाने निर्णय गर्नुभएको हो । आफू प्रधानमन्त्री भएपछि नै आर्थिक विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै ती कार्यक्रमहरु सही छन् वा छैनन् भन्ने बारेमा आफूले जनतासँग सोध्ने उहाँले बताउनुभएको छ । जापानी संसदको तल्लो सभाका ४७५ स्थानका लागि एक हजार १८० जना उम्मेदवारले प्रतिश्पर्धा गरिरहेका निर्वाचन आयोगले जानकारी दिएको छ । प्रधानमन्त्रीको दल नेसनल डेमोक्र्याटिकले उक्त निर्वाचनमा झिनो मतले विजय हाँसिल गर्ने अनुमान गरिएको छ । तर स्पष्ट आधारहरु भने नरहेको जानकारहरुको भनाई छ । हालैमात्र जापानी एक दैनिक पत्रिका आसाही सिम्बुनले गरेको सर्वेक्षणअनुसार अबे सरकारको लोकिप्रियतामा केही ह्रास आएको छ । त्यसैकारण पनि यो निर्वाचनको परिणामका बारेमा अहिले नै अनुमान गर्न गाह्रो भएको विश्लेषकहरुको भनाई छ । तर प्रधानमन्त्रीले भने थोरै सङ्ख्याकै अन्तर रहेपनि आफ्नो दलले स्पष्ट बहुमत ल्याउने बताउँदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?