जपान अध्ययनका लागि पुगेका भक्तपुरका बुद्धराम किसीको निधन
सुन्दर भविष्य साँचेर जपान पुगेका एक भक्तपुरे युवा जीवनसँगको संघर्षमा असफल भएका छन् र मृत्यु अंगाल्न पुगेका छन्। टाउको दुख्ने समस्याबाट पीडित बनेका भक्तपुर गोल्मढीका बुद्धराम किसीलाई अस्पताल भर्ना गर्दा डाक्टरहरुले दिमागमा रगत जमिसकेको भन्दै बचाउन निकै कठीन रहेको जानकारी दिएका थिए। तर, प्रयत्न भने जारी थियो। उनी भाषा अध्ययनका लागि अप्रिल सेसनबाट उनी टोक्यो सिन्जुकुमा रहेको टोक्यो विश्व भाषा विद्यालयमा पढिरहेका थिए । उनको निधनपछि यतिबेला जपानको नेपाली समाज मर्माहत भएको छ। उनको उपचारका लागि आर्थिक सहयोग जुटाएर स्वास्थ्य लाभको कामना गरिरहेका नेपालीहरु यतिबेला केही बोल्नसक्ने अवस्थामा छैनन्। एनआरएन जपानका सदस्य तथा बचाउ अभियानका दीपकबाबु नेपालका अनुसार उनको शव नेपाल पठाउने तयारी भइरहेको छ। भक्तपुरबाट उनका भिनाजु शिवराज तुईतुई जपान पुगेका थिए। उनको घरमा दिदीभाई, बाबुआमा, श्रीमती र चार वर्षका छोरा छन्। उपचारका लागि उठाइएको रकम अब परिवारलाई हस्तान्तरण गर्ने र चार वर्षीय छोराको पढाईमा खर्च गरिने बताइएको छ।