साहित्य महासङ्घद्वारा आठ साहित्यदूत घोषित, नामावलीसहित


bookविश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने आठ जनालाई यस वर्षको साहित्यिकदूत घोषणा गरेको छ । सोअनुसार नेपाली साहित्यदूत सगरमाथा कृष्णप्रकाश श्रेष्ठ (काठमाडौँ, हाल रुस), कञ्चनजङ्घा सुरेशजङ्ग शाह (जुम्ला, हाल बेलायत), ल्होत्से कपिल अधिकारी (नुवाकोट, हाल ताइवान), मकालु महेन्द्रकुमार मल्ल ( दैलेख, नेपाल), चोयु टङ्क सम्बाहाम्फे (धनकुटा, हाल हङकङ), धौलागिरि विक्रमवीर थापा ( मेघालय, भारत), मनास्लु २०१४ डेन्जोम साम्पाङ (भुटान, हाल अमेरिका) र अन्नपूर्ण लक्ष्मण न्यौपाने (म्यान्मा) रहनुभएको छ । यस्तै यस वर्षको उत्कृष्ट शाखा महासङ्घ कुवेत र यस वर्षको महासङ्घ उत्कृष्ट सदस्यमा इजरायल शाखाका पूर्वमहासचिव यासिन राई घोषित हुनुभएको छ । बैठकले नेपाल शाखाका अध्यक्ष रमेश कँडेल, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका अध्यक्ष काजल घिमिरे र उत्कृष्ट सदस्य राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ ।महासङ्घले छिट्टै विश्वब्यापी खुला कविता प्रतियोगिताको नतिजा घोषणा गर्ने अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । महासङ्घ बेलायत शाखाले कवि विक्रम सुब्बाको एकल कविता वाचन कार्यक्रम पनि सम्पन्न गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?