स्वर्गद्वारीमा बन्ने केबल कारको विस्तृत अध्ययन सकियो, साँढे तीन किलोमिटर केबलकार बन्ने


cableकेबलकार विस्तृत अध्ययन समूहले स्वर्गद्वारीको केबलकार निर्माण अध्ययन पूरा गरी निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । समूहले पर्यटकीय तथा धार्मिक तीर्थस्थल स्वर्गद्वारी आधार शिविर भिगृदेखि आश्रमसम्म ३.५ किलोमिटर लामो केबलकार निर्माण उपयुक्त रहेको भन्दै प्रतिवेदन बुझाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास आयोजनाले विस्तृत सम्भाव्यता अध्ययन सकेर निर्माण प्रक्रिया अगाडि बढाउनका लागि सिफारिस गरेको मन्त्रालय योजना महाशाखाका वरिष्ठ अधिकृत डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । “केबलकार निर्माणका लागि मन्त्रालयले केही दिनभित्रै निजी क्षेत्रसँग प्रस्ताव माग्ने तयारी गरेको छ । उहाँले भन्नुभयो, “स्वर्गद्वारीमा केबलकार निर्माण गर्न निजी क्षेत्रसँग प्रस्तावना माग्दैछौँ । समुद्री सतहबाट दुई हजार १२१ मिटर उचाइमा रहेको स्वर्गद्वारी धार्मिक रुपमा विश्वमा प्रसिद्ध छ । “सांस्कृतिक रुपमा मात्रै नभई यहाँको केबलकार धार्मिक तथा राष्ट्रिय गौरवको विषय हो ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोख्रेलले भन्नुभयो, “भिगृबाट स्वर्गद्वारीसम्ममा केबलकार र प्युठान जानका लागि विमानस्थल बनाउने महत्वकांक्षी लक्ष्य रहेको छ ।” उपाध्यक्ष पोख्रेलले केबलकार निर्माणपछि स्वर्गद्वारीमा वार्षिक आन्तरिक र बाह्य पर्यटकमा वृद्धि हुने बताउनुभयो । हाल वार्षिक दुई लाखसम्म पर्यटक आउने गरेकामा केबलकार निर्माण भएपछि १५ लाख पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउने अध्ययन प्रतिवेदन समितिले दिएको छ । आयोजनाका लागि रु एक अर्ब लाग्ने अनुमान गरिएको वरिष्ठ अधिकृत निरौलाले जानकारी दिनुभयो । मन्त्रालयले सार्वजनिक–निजी साझेदारी मोडलमा निर्माण गर्ने गरी विस्तृत अध्ययन पूरा गरेको छ । आयोजना निर्माण सुरु भएको १८ महिनामा निर्माण सक्ने लक्ष्य रहेको छ । भिगृका स्थानीय ईश्वरी रेग्मीले भन्नुभयो, “यसभन्दा पहिला स्वर्गद्वारी आश्रम प्रमुखले केबलकार निर्माणविरुद्ध अदालतमा रिट दायर गरेपछि समस्या भएको थियो ।” स्वर्गद्वारी आश्रम प्रमुख भागवतानन्द गिरीले केबलकार निर्माणले मन्दिर परिसरको भौगोलिक वातावरण बिग्रिने र स्वरुपमा परिवर्तन हुने भन्दै सर्वोच्च अदालतमा केबलकार निर्माणको विरुद्धमा रिट दायर गर्नुभएको थियो । “सर्वोच्चले स्थानीयको पक्षमा निर्णय गरेपछि केबलकार निर्माणको बाटो खुल्यो”, स्थानीय रेग्मीले भन्नुभयो । सोह्र सय रोपनीमा फैलिएको आश्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत भालुवाङ–प्युठान–रोल्पा सडकखण्डको भिगृबाट १३ किलोमिटरको यात्रापछि आश्रममा पुग्न सकिन्छ । यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, सिस्नेजस्ता हिमशृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले पनि केबलकार राष्ट्रिय चासोको विषय बनेको छ । आश्रमबाट माडी नदीमा जानका लागि जमिनमुनिबाट समेत गुफाको बाटो रहेको छ । पाँच पाण्डवहरू स्वर्ग जाँदा अन्तिम रात यहीँ बास बसेकाले यस स्थानको नाम स्वर्गद्वारी रहन गएको धार्मिक विश्वास रहिआएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?