वेश्यावृत्तिका दलाल दम्पत्ति प्रहरी नियन्त्रणमा, सुराकीका आधारमा प्रहरीको छापा
घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो । सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो । खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।