नगदको साटो चेकमार्फत कारोबार गर्न बैंंकरको आग्रह
राज्यलाई सुशासित तवरले सञ्चालन गर्ने हो भने चेकमार्फत नै कारोबार गर्नुपर्नेमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । आर्थिक कारोबारको पारदर्शिताका लागि पनि संसारका विभिन्न मुलुकले नगदलाई भन्दा चेकलाई नै जोड दिएकोले नेपालले पनि सोही प्रक्रियालाई अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइयो । नेपाल बैंकर्स सङ्घले आयोजना गरेको ‘कारोबारमा नगद प्रयोगको न्यूनिकरण’ विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भ्रष्टाचार नियन्त्रण र अपराध न्यूनीकरण गर्न चेक कारोबारलाई बढावा दिनुपर्ने धारणा राख्नुभयो । विश्वमा भ्रष्टाचार कम हुने मुलुकहरु नेदरल्याण्ड, डेनमार्क, सिङ्गापुरलगायतका मुलुकका ९० प्रतिशत भन्दा बढी कारोबार चेक मार्फत नै हुने गरेको जानकारी दिँदै डेपुटी गभर्नर अधिकारीले नेपालले पनि सोही व्यवस्थालाई अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भ्रष्टाचार, अपराध, नगद कहीँ न कहीँ एक आपसमा जोडिएकाले चेक मार्फत नै कारोबार गर्ने प्रावधानलाई अक्षरशः लागू गर्न आफूहरु तयार रहेको धारणा राख्नुभयो । राष्ट्र बैंकले पछिल्लो दिनमा एक लाखसम्मको कारोबारलाई नगदमा होइन चेक मार्फत नै गर्नुपर्ने प्रावधानलाई अगाडि बढाउन लागेको छ । यस खालको व्यवस्थाले भ्रष्टाचार नियन्त्रण र अपराध न्यूनीकरणका लागि सहयोग पु¥याउने विश्वास लिइएको छ । यस्तै सङ्घको आजै यहाँ सम्पन्न साधारण सभाले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई अध्यक्षमा निर्वाचित गरेको जानकारी दिइयो । यस्तै, निवर्तमान अध्यक्ष राजनसिंह भण्डारी, उपाध्यक्षद्वयमा अनिलकेशरी शाह र रत्नराज बज्राचार्य र सदस्यहरुमा अनिल ज्ञवाली, किशोर महर्जन, कृष्णप्रसाद शर्मा, अजय श्रेष्ठ, भुवन दाहाल, ज्ञानेन्द्र ढुङ्गाना, शसिन जोशीलगायत हुनुहुन्छ ।