ज्यापू पोशाकमा सजिएर प्रधानमन्त्रीले भने, नयाँ संविधानले सबैलाई एकताको सूत्रमा आबद्ध गर्नेछ


?????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले आदिवासी, जनजाति, मुसलमान तथा अल्पसङ्ख्यक सबैको अधिकारलाई सुनिश्चित गर्ने गरी नयाँ संविधान जारी हुने बताउनुभएको छ । एघारौँ राष्ट्रिय ज्यापु दिवस–२०७१ (योमरी पुन्ही) को अवसरमा कार्यक्रममा उहाँले २०६२÷०६३ को आन्दोलनका उपलब्धि सङ्घीयता, लोकतन्त्र र समावेशीताबाट कोही पनि पछि हट्न नसक्ने उल्लेख गर्दै आगामी संविधानले सबैलाई एकताको सूत्रमा आबद्ध गर्ने बताउनुभयो । शान्ति, स्थायित्व र लोकतन्त्रसहितको नयाँ संविधान जारी हुन्छ कि हुँदैन भन्ने सर्वत्र चिन्ता रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “नयाँ संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नेछ ।” द्वन्द्व सिर्जना हुने कार्य कतैबाट पनि हुन नहुने उल्लेख गर्दै उहाँले आगामी केही वर्षमा नै देश आर्थिक समृद्धिको बाटोमा धेरै अगाडि पुग्ने भएकाले त्यस कार्यमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । परम्परागत नेवारी पोसाकमा कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री कोइरालाले काठमाडौँ उपत्यकाको आदिवासी जनजाति ‘ज्यापु’ समुदायले वर्षौ पुरानो भाषा, संस्कृति तथा समुदायको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “ज्यापु सांस्कृतिक विकास कोषको स्थापना गरी आफ्ना भाषाको संरक्षण र सम्बद्र्धन गर्दै सामाजिक उत्थानमा लाग्नु अत्यन्त अनुकरणीय काम हो, यसले अन्य जाति, भाषा तथा धर्मका समुदायलाई प्रेरणा दिन्छ ।” कोषले बहुजातीय, बहुधार्मिक र बहुपरम्परालाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले यस्ता कार्यले देशको राष्ट्रियतालाई बलियो बनाउने भएकाले सरकारले यस्ता कार्यलाई प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा ज्यापु प्रतिभा सम्मान र पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार ज्यापु बाल प्रतिभा पुरस्कार सुर्मा डङ्गोल र सृष्टि महर्जनलाई प्रदान गरिएको छ । त्यसैगरी ज्यापु युवा प्रतिभा पुरस्कारअन्तर्गतको स्वास्थ्य शिक्षामा डा भावना डङ्गोल, सङ्गीतमा सोफिया महर्जन, खेलकुदमा गङ्गाराम महर्जन र मचारत्न महर्जन, पत्रकारितामा राकेश डङ्गोल र महिला सशक्तीकरणमा नानीहिरा महर्जनलाई पुरस्कृत गरिएको छ । त्यसैगरी ज्यापु सांस्कृतिक गुरु पदक ९४ वर्षीय तरिभाइ डङ्गोल, ज्यापु सरस्वती पदक शान्ति निकुञ्ज माविका प्राधानाध्यापक ज्ञानीकाजी महर्जन, ज्यापु उद्यमी पदक राजेश अवाले, ज्यापु दीर्घ सेवा पदक शम्भु महर्जन र ज्यापु दानवीर पदक सानु महर्जनलाई प्रदान गरिएको छ । ज्यापु रत्न भूमि प्रशासन विशेषज्ञ कपिल डङ्गोल, ज्यापु प्रज्ञा संस्कृतिविद् तुलसी दिवस, मरणोपरान्त विशेष सम्मान काजी तुलसीमान सिंह र तिर्थमान ज्यापु र ज्यापु सहयोद्धा पदक हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयका प्रमुख हरिकुमार श्रेष्ठलाई प्रदान गरियो । ज्यापु विशेष सम्मान महिला पाइलट वागेश्वरी डङ्गोल, काठमाडौँ महानगरपालिकाका भवन तथा सम्पदा महाशाखा नारायणबाबु भट्टराई, कामनपा जनस्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख नरेन्द्रविलास ब्रजाचार्य र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका अधिकृत सन्तु श्रेष्ठलाई प्रदान गरियो । पदक प्राप्त गर्ने सबैलाई जनही रु १० हजारसहित सम्मान पत्रबाट सम्मान गरिएको हो । त्यसैगरी संस्थागत विशेष पुरस्कार तथा सम्मानपत्र कामनापाभित्रका परम्परागत ६३ टोल गुथिभन्दा बाहिर क्षेत्रका उत्तरी भेग, दक्षिण भेग, पश्चिम भेगका संस्था तथा ललितपुर र भक्तपुर जिल्लाका संस्थाबाट प्रत्येक भेग र जिल्लाका एक संस्थालाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । ज्यापु सांस्कृतिक धरोहर सम्मान पाँचौ राष्ट्रिय ज्यापु दिवस समारोह २०६५ का संयोजक मङ्गलकृष्ण सिंहलाई कृतज्ञतास्वरुप सम्मान गरिएको छ । त्यसैगरी संयोजक कार्य सम्पादन प्रशंसापत्रले १० औँ राष्ट्रिय ज्यापु दिवस समारोहका संयोजक लक्ष्मी नारायण महर्जनलाई सम्मान गरियो । पुरस्कारका संस्थापक दाताहरु विभिन्न क्षेत्रका नौ जनालाई पनि सो अवसरमा सम्मान गरियो । कार्यक्रमका अध्यक्ष तथा कोषका अध्यक्ष चक्रमान डङ्गोलले प्रधानमन्त्री कोइराला र सिक्कीम सरकारका प्रमुख सचेतक विक्रम प्रधानलाई योमरी पुन्हीको उपहार प्रदान गर्नुभयो । महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले ज्यापु संस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका अन्य वक्ताहरुले राज्य पुनः संरचनासहितको पूर्ण संविधान जारी हुने विश्वास व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?