गाँजाका बोटमा प्रहरी दृष्टि, दुई विगाहा गाँजा बोट नष्ट
हरेक वर्ष हजारौं गाँजाका बोट काटेको र तिनलाई नष्ट गरेको रेकर्ड प्रहरीले सार्वजनिक गर्दछ । हरेक गाँजाखेती त कुनै न कुनै जग्गामा गरिएको हुन्छ। यो अवैध खेती पनि हो। अनि किसानलाई पहिचान गर्न पनि गाह्रो छैन, किन उसले यस्तो गर्यो भनेर। तर, पनि जारी छ गाँजा खेती नेपालमा। यसैबीचमा, गृहमन्त्रालयको आदेशपछि जिल्ला प्रहरी कार्यालय सिरहाले गाँजा फँडानी अभियान सुरु गरेको छ । प्रहरीले तीन दिनमै करिब १० हजारभन्दा बढी गाँजाको बोट फँडानी गरेको हो । दुई दिन अगाडि इलाका प्रहरी कार्यालय मिर्चैया, प्रहरी चौकी बन्दिपुर र प्रहरी चौकी कर्जन्हाको संयुक्त टोलीले बडहरामालस्थित खेतमा लगाएको करिब दुई बिगाहाको गाँजा बोट फँडानी गरेको हो । इप्रका मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार दुई बिगाहामा लगाइएको करिब १० हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी आगो लगाएर नष्ट पारिएको छ । यस्तै, आज लहान नगरपालिका– १६ गोविन्दपुरमा प्रहरीले गाँजा फँडानी गरेको छ । इप्रका लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटेको टोलीले गोविन्दपुरका करिब दुई दर्जन घरपरिवारले लगाएको करिब १५० गाँजाको बोट फँडानी गरेको हो । स्थानीयवासीको उपस्थितिमा प्रहरीले फँडानी गरेको गाँजाको बोटमा मट्टितेल खन्याइ आगो लगाएर नष्ट पारेको हो । साथै कानुनले रोक लगाएकाले अबदेखि गाँजाखेती नगर्न स्थानीय बासिन्दालाई चेतावनीसमेत दिइएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो ।