मधेसी मोर्चाको अवधारणा सार्वजनिक, संविधान निर्माणको केन्द्रमा सहमति र सम्झौता


INDIA-NEPAL-DIPLOMACYसंविधानसभामा प्रतिनिधित्व गर्ने मधेस केन्द्रित ६ राजनीतिक दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवधारणा सार्वजनिक गरेका छन् । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संयुक्त बैठकले विगतका सहमति तथा सम्झौतालाई केन्द्रविन्दुमा राखेर संविधान निर्माण हुनुपर्नेमा जोड दिएको छ । संविधान निर्माण नहुँदासम्म कुनै पनि मधेसवादी दल सरकारमा सहभागी नहुने र संविधान निर्माणको आधार सहमतीय नै भएको समेत मोर्चाले ठहर गरेको मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।सार्वजनिक अवधारणामा मोर्चाको नेतृत्व पालैपालो गर्ने, आवश्यकताअनुसार सचिवालय, विभिन्न समिति गठन गर्ने, मोर्चालाई जिल्ला तहसम्म विस्तार गर्ने रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी हुनुपर्नेमा समेत जोड दिइएको अध्यक्ष गच्छदारको भनाइ छ । तराई मधेसमा दुई प्रदेश हुनुपर्ने, महिला, दलित, जनजाति, आदिवासी, मधेसी र अल्पसङ्ख्यक तथा पिछडिएका क्षेत्रको उचित प्रतिनिधित्व गराउनेगरी निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा समेत जोड दिइएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी रहेका छन् । मोर्चामा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र सङ्घीय सद्भावना पाटीलाई समेत सहभागी गराइने जानकारी दिइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?