बढ्दो साईबर अपराध, आगामी वर्षमा अझै सुरक्षा खतरा बढ्ने अनुसन्धानकर्ताहरुको निष्कर्श
यस वर्ष शृङ्खलावद्ध रूपमा साइबरआक्रमण प्रमुख समाचारको विषय बनेको थियो भने सन् २०१५ मा यस्तो आक्रमण अझै नराम्रो हुने नेटवर्क सुरक्षा अनुसन्धानकर्ताहरूले मङ्गलबार बताएका छन् । उनीहरूले आउँदो वर्ष ह्याकरहरूले अरुको नेटवर्कमा प्रवेश गर्न अझै उन्नत प्रविधि प्रयोग गर्ने बताएका छन् । म्याक्याफी ल्याबको २०१५ को चुनौती प्रक्षेपण प्रतिवेदनमा साइबरयुद्ध तथा गुप्तचरी बढ्ने र ह्याकरहरूले आफ्नो गतिविधि लुकाउन तथा संवेदनशील तथ्याङ्क चोर्न नयाँ रणनीति लिने दाबी गरिएको छ । प्रतिवेदनमा साइबर गुप्तचरी अझै निरन्तर रहने र त्यसको सङ्ख्यामा पनि वृद्धि हुने उल्लेख गरिएको छ । प्रतिवेदनमा दीर्घकालमा चोरी गरिएका सूचना जम्मा गर्ने व्यक्तिहरूले प्रमुख भूमिका खेले पनि नयाँ व्यक्तिहरूले पैसा चोर्ने र आफूलाई पक्राउ गर्ने व्यक्तिको प्रयासलाई असफल पार्न खोज्ने उल्ल्ेख गरेको छ । म्याक्याफीले साना मुलुक तथा आतङ्कवादी समूह आक्रमणमा बढी सक्रिय हुने बताएको छ । अनुसन्धानकर्ताहरूले साइबर अपराधीहरूले पीडित व्यक्तिको सञ्जालबाट दीर्घकालसम्म तथ्याङ्क चोर्न आफूलाई पत्ता लगाउननसक्ने बनाउने बताइएको छ । ठूला मुलुकका साइबरगुप्तचरले कुरेर सूचना सङ्कलन गरे जस्तै साइबर अपराधीले पनि यस्तै प्रकारको जटिल विधि अपनाउने अनुसन्धानकर्ताहरूले बताएका छन् । प्रतिवेदनमा ह्याकरहरूले कृषि, उत्पादन तथा स्वास्थ्य क्षेत्रका सञ्जालमा जोडिएका उपकरण तथा कम्प्युटरलाई लक्ष्य बनाइरहेको जानकारी दिइएको छ । हाल उनीहरूले उपभोक्ताका उपकरण, गाडी, घरस्वचालन उपकरण, बती जस्ता उपकरणमा पनि ध्यान दिन थालेको बताइएको छ । म्याक्याफीले ह्याकरहरूले वेबक्यामराका साथमा औद्योगिक नियन्त्रण प्रणालीमा ध्यान दिइरहेको जानकारी दिएको छ । उनीहरूले स्वास्थ्यक्षेत्रमा अझै नराम्रो प्रभाव पार्नसक्ने बताइएको छ ।