आज विश्व मानव अधिकार दिवस, प्रम कोइरालाबाट शुभकामना
प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा मानवअधिकारको प्रत्याभूतिका लागि कार्यरत मानव अधिकारकर्मीसहित प्रजातन्त्र र मानवअधिकारको पक्षमा उभिनुभएका नेपाली तथा विदेशी दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई दिँदै मानवअधिकारको अवस्था अझ सुधार गर्ने सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । विश्व मानवअधिकार दिवस २०१४ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई मानवअधिकारको क्षेत्रमा सबै समुदाय तथा राष्ट्रको साझा उपलब्धि र न्यूनतम् मापदण्डको रूपमा लिनुपर्ने बताउनुभएको छ । यस दिवसले सबैले सबैलाई सधैँ समानरूपमा मानव अधिकारको पूर्ण प्रत्याभूति दिएर विश्व मानव समुदायलाई एकै मूल्य र मान्यतामा गोलबद्ध गराउने कुराको सुनिश्चित गर्ने बताउँदै उहाँले नेपाली समाजमा देखापरेका विभेदको अन्त्य, आत्मसम्मानको प्रत्याभूति र समावेशी विकासद्वारा मानव अधिकार सुनिश्चित गर्नेतर्फ क्रियाशील रहँदै आएको बताउनुभएको छ । विभेद र जोखिममा परेका, कमजोर अवस्थामा रहेका र शोषित तथा सीमान्तकृत वर्ग तथा समुदायलगायत सबै व्यक्तिको अधिकारको संरक्षणमा सरकारको प्राथमिक दायित्व रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले मानवअधिकारको उल्लङ्घन हुन नदिन र उल्लङ्घन भइहालेमा घटनाको अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यस वर्षको नारा ३६५ दिन नै मानवअधिकार अर्थात् प्रत्येक दिन मानव अधिकारको दिन” भन्ने रहेको छ । नेपालको अन्तरिम संविधान, २०६३ ले प्रत्याभूत गरेका मौलिक हकको संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले सन्देशमा राष्ट्रिय मानव अधिकार आयोगलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय निकायको संस्थागत क्षमतालाई सुदृढ गर्न र सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, वर्ण, सम्प्रदाय, लिङ्ग र क्षेत्रका आम नागरिकको मानवअधिकारको सम्मान गर्ने संस्कृतिको विकास गरी समानता र न्यायमा आधारित समावेशी नेपाली समाजको स्थापना गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्नुभएको छ । प्रत्येक वर्ष डिसेम्बर १० लाई विश्व मानवअधिकार दिवसको रूपमा मनाउँदै आइरहेको छ ।