महिला हिंसाको शिकार, तीस वर्षदेखि परिवारले नै खोरमा थुनेकी महिलाको उद्धार


Picture 107चितवनको मङ्गलपुरमा तीस वर्षदेखि खोरमा थुनिएकी महिलाको उद्धार गरिएको छ । मङ्गलपुरकी ४६ वर्षीया काशीमाया तामाङलाई आज चितवनका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर बिकसहितको टोलीले खोरबाट उद्धार गरी भरतपुर अस्पताल पुर्याएको हो । उद्धार गर्न गएको टोलीमा भरतपुर अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्री तिमिल्सिना, शान्ति समितिका निवर्तमान संयोजक जितनारायण श्रेष्ठ, मनोरोग विशेषज्ञ डा महेन्द्रराज न्यौपाने र पत्रकारहरु हुनुहुन्थ्यो । सोह्र वर्षको कलिलै उमेरमा बिबाह गरी गएकी काशीमाया घरेलु हिंसाका कारण एक वर्षमै माइती फर्केकी उनका माइती पक्षले बताएका छन् । मानसिक समस्या आएपछि उनलाई परिवारले नै छुट्टै काठको खोर बनाएर ३० वर्षदेखि राख्दै आएका थिए । उनलाई १६ वर्षको उमेरमा नवलपरासीमा विवाह गरिएको थियो । श्रीमान्ले कुटपिट गरेर यातना दिएपछि उनी माइत बस्दै आएकी थिइन् । माइतमा घरको पीडाले मानसिक समस्या आएको बुबा फइसिङ तामाङले बताउनुभयो । धेरै ठाउँमा उपचार गराए पनि उपचार हुन नसकेर उनलाई खोरमा राखिएको फइसिङले बताउनुभयो । उनलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको छ । चिकित्सक डा न्यौपानेले लामो समयदेखिको मानसिक समस्या भएकाले उपचार सम्भव भए पनि समय लाग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले महिलालाई जनावर जसरी राख्न नहुने बताउँदै उनको उपचार गरेर समाजमा फेरी पुनःस्थापना गरिने बताउनुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनका बेला उक्त विषय सार्वजनिक भएको हो । अभियान कार्यक्रममा मात्रै सीमित गरिएको आरोप लाग्दै आएका बेला वास्तविक पीडितको उद्धार गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?