चार दल बालुवाटारमा बैठक भन्दै व्यस्त, सहमति नजुटेपछि दुईपक्षीय छलफलमै वित्यो समय, आज आन्तरिक छलफल, सोमबार फेरि प्रयास हुने


?????????????????????????????????????????प्रस्तावित नयाँ संविधानका अन्तर्वस्तुमा सहमति खोज्न बसेकोे प्रमुख तीन दल र मधेस केन्द्रित दलहरूको शनिबार साँझको डिनरसहितको बैठक दुई पक्षीय छलफलमै सीमित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको ती दलहरु सम्मिलित बैठकमा संविधानका अन्तर्वस्तुमा देखिएका विवाद सुल्झाउन काँग्रेस–एमाओवादी, एमाओवादी–एमाले, काँग्रेस मधेश केन्द्रित दलहरुबीच नै द्विपक्षीय छलफल भयो । बैठकपछि (एनेकपा) माओवादीका बरिष्ठ नेता एवम् संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले  छलफलमा सहमति खोज्नुपर्छ, सहमतिमै सबै विषय टुङ्गो लगाउनुपर्छ भन्ने भावनाको प्रदर्शन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विषयवस्तुमा विषयवस्तुमा प्रवेश गरेर छलफल भएको छ तर सहमति बनेको छैन । दलहरु आ–आफ्ना अडानमा कायम छन् । कतिपय विषयमा दुरी अझै पनि कायमै छ ।’ वरिष्ठ नेता भट्टराईले भावनाका हिसाबले सहमतिकै माध्यमबाट विषयवस्तुलाई टुङ्ग्याउनुपर्छ भन्ने भनाइ नेताहरुबाट व्यक्त भएको प्रतिक्रिया दिनुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अलगअलग पार्टी–पार्टीबीच र केही समय संयुक्तरुपमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विषयवस्तुमा खुलेर कुराकानी भएको छ, सङ्घीयता शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा आ–आफ्ना दृष्टिकोण प्रस्तुत भएको छ ।” ‘छलफललाई नियाल्दा दलहरुबीच त्यति धेरै मिल्दै नमिल्ने जस्तो मत भिन्नता देखिदँैन, तैपनि टुङ्गोमा भने कुनै पनि विषयमा पुगिसकेको अवस्था होइन’– उपसभापति पौडेलले भन्नुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दुई पक्षीय छलफलमै समय खर्चिएको, कुनै सहमति र निष्कर्षमा पुगिनसकेको जानकारी गराउनुभयो । प्रमुख राजनीतिक दलहरुको आज आन्तरिक बैठक भएको हुनाले भोलि सोमबार बेलुका पुनः प्रमुख तीन दल र मधेस केन्द्रित दलबीच बैठक हुने नेताहरुले जानकारी दिनुभएको छ । बैठक अपराह्न ५.०० बजेदेखि राति ८.०० बजेसम्म चलेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?