कसैलाई भड्काएर समस्या समाधान हुँदैन, प्रचण्डलाई प्रधानमन्त्रीको सुझाव, सहमति जुट्नेमा कोइराला विश्वस्त
प्रधानमन्त्री सुशील कोइरालाले संविधानका मुख्य विवादित विषयमा सहमतिका लागि राजनीतिक दलबीच निरन्तर वार्ता भइरहेकोले सहमति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले कुनै पक्षलाई भड्काएर समस्याको समाधान नहुने बताउँदै जिम्मेवार नेताहरूलाई पनि भड्काउने काम नगर्न आग्रह गर्नुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको साताँै वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सो धारणा व्यक्त गर्नुभएको हो । “मैले एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कुनै पक्षलाई भड्काएर समस्याको समाधान हुँदैन भनेको छु, सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता मुख्य विवादित विषयमा गम्भीरताका साथ दलहरूबीच वार्ता भएकाले सहमति हुनेमा म विश्वस्त छु”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो । माओवादी लडाकुको समायोजनको कामसमेत सफल भएको चर्चा गर्दै प्रधानमन्त्रीले लेनदेनका आधारमा सहमतिमा पुग्न सकिने बताउनुभयो । “सबै आफूले भनेको कुरा हुन्छ भन्ने छैन, सहमति भनेको लेनदेन हो, सङ्क्रमणकाललाई लम्ब्याएर स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि लेनदेनका आधारमा सहमतिमा पुग्नै पर्छ, मुलुकको विकासको ढोका खोल्नुपर्छ”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो । उहाँले नेपालमा लगानीको वातावरणको ढोका खुलेकाले यो अवसरलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, विकास र निर्माणका कामलाई तीव्रता दिनुपर्ने उल्लेख गर्नु भयो । प्रधानमन्त्री कोइरालाले अन्य अस्पतालको तुलनामा बिपी स्मृति अस्पताललाई सहयोग गर्ने विश्वास दिलाउँदै छोटो अवधिमा अस्पतालले प्रगति गरेको बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अघिल्लोपटक एमाओवादीलगायतका दलसँग बहुमत हुँदा आफूहरूले विवादित विषयमा लचक भएर उहाँहरूले भनेको मान्दा पनि किन संविधान बन्न सकेन भन्दै अहिले हामीसँग बहुमत छ उहाँहरूले सहमतिका लागि मान्नुपर्छ र संविधान निर्धारित समयमै दिनुपर्छ भन्नुभयो । संविधानका विवादित विषयमा सहमतिका लागि आफूहरूले राखेको प्रस्तावलाई जनताले स्वागत गरेका तर माघ ८ को तिथिमा संविधान आउन नदिन प्रपञ्च भइरहेको आरोप लगाउँदै उपसभापति पौडेलले सहमतिका लागि प्रस्ताव ल्याउँदा समय लम्ब्याएर संविधान बन्न नदिने षडयन्त्र भइरहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एनेकपा (माओवादी)का मुलुकलाई द्वन्द्वमा पर्नबाट जोगाउन निर्धारित समयमै संविधान वा संविधानको मस्यौदा भए पनि दिनुपर्छ भन्नुभयो । उहाँले बिपीको नाउँबाट खोलिएको अस्पतालका बारेमा काँग्रेस पार्टीलाई नै थाहा छ कि छैन भन्ने प्रश्न गर्दैै बिपी स्मृति अस्पतालका बारेमा पार्टीका सभासद्सँग कुरा गर्दा निःशुल्क उपचारको कुरा गर्ने गरेको प्रसङ्ग उल्लेख गर्नुभयो । अर्का केन्द्रीय सदस्य डा शशांक कोइरालाले २०४८ सालताका नै बिपी स्वास्थ्य प्रतिष्ठान खोलेर गाउँगाउँमा स्वास्थ्य शिविर चलाएरसमेत स्वास्थ्य सेवा दिने सोचअनुरूप आज बिपी स्मृति अस्पताल अघि बढेको चर्चा गर्दै अस्पताल चलाउन पैसा चाहिने भए पनि हाम्रो शक्ति भनेको पैसा नभएर सामूहिक कार्य गर्ने तत्परता नै हो भन्नुभयो । काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले गरिबले स्वास्थ्य सेवा पाउने गरी स्वास्थ्य सेवा विस्तार गनुपर्ने बताउनुभयो । सो अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले बिपीको नाउँमा खोलिएको अस्पतालप्रति काँग्रेस पार्टी सत्तामा रहँदासमेत सहयोगमा उपेक्षा गरिएको बताउँदै काँग्रेस नेताहरूप्रति आक्रोश व्यक्त गर्नुभयो । “अस्पतालमा आउने कतिपय बिरामी म त बिपीसँग जेलमा बसेको हो मलाई त यो अस्पतालमा निःशुल्क उपचार होला भनेर मलाइ सोध्छन्, तर पार्टी सत्तामा हुँदा अरू नेताका नाउँमा खोलिएका अस्पताललाई धेरै र आफ्नो अस्पताललाई थोरै सहयोग गरेको देख्दा चित्त दुख्छ”, अध्यक्ष डा केसीले भन्नुभयो । विगत सात वर्ष अघि ३९ जना सेयर सदस्यबाट सुरु भएको सो अस्पतालमा अहिले ४०५ सेयर सदस्य पुगेका छन् । कार्यक्रममा अस्पतालमा कानुनी सेवा पु¥याउनुभएका मदन रेग्मीलाई रु १५ हजारको नगद पुरस्कारबाट प्रधानमन्त्री कोइरालाले सम्मान गर्नुभएको थियो । साथै प्रधानमन्त्री एवम् पार्टी सभापति कोइराला र उपसभापति पौडेललाई अस्पतालको सेयर सदस्यताको प्रमाणपत्र सो अवसरमा प्रदान गरिएको थियो ।