महको बट्टामा चरेस किलोका किलो, हङकङ पठाउन लागिएको थियो
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १६ किलो चरेससहित तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । महको डब्बाभित्र लुकाई राखेको १६ किलो लागुऔषध चरेससहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरूलाई ब्युरोले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा झापा जलथल–८ घरमई ललितपुर मानभवन बस्ने ३६ वर्षीय केशर लिम्बु भन्ने धनबहादुर फागो लिम्बु, चितवन भरतपुर–३ घर भई हाल बुद्धनगर बस्ने ४६ वर्षीय तीर्थनाथ सापकोटा र लमजुङ कोल्की घर भई हाल काठमाडौँको टोखा बस्ने ४९ वर्षीय मनबहादुर गुरुङ रहेका छन् । उनीहरूको साथबाट गत मङ्सिर २३ गते ठमेलस्थित ब्लु स्टार कार्गोमार्फत काठमाडौँबाट हङकङ पठाउन लागेको महले भरिएको डब्बाभित्र फल्सबटम बनाई लुकाई राखेको अवस्थामा अबैध लागुऔषध ८ किलो ३०० ग्राम चरेस बरामद गरेको गरेको थियो । त्यस्तै मङ्सिर २४ गते अभियुक्तमध्ये गुरुङको काठमाडौँको सरस्वती गाविस–६ टोखास्थित डेराबाट समेत सोही प्रकृतिका बट्टाहरू र थप सात किलो ७०० ग्राम चरेस गरी १६ किलोग्राम चरेस बरामद भएको ब्युरोले जनाएको छ । त्यसक्रममा केशर लिम्बु भन्ने धनबहादुर फागो लिम्बुको साथबाट १०० दरका २५ थान अमेरिकी डलरसमेत बरामद गरिएको ब्युरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।