पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री आबेद्वारा जापानी संविधान पुनः लेख्ने बचन
जापानी प्रधानमन्त्री सिन्जो आबेले निर्वाचनमा अत्यधिक बहुमतले विजय हासिल गरेपछि सोमबार आफ्नो मुलुकको शान्तिवादी संविधानमा पुनरावलोकन गर्नुपर्ने कुरामा मतदातालाई मनाउने बताउनुभएको छ । प्रधानमन्त्री आबे आइतबारको निर्वाचनमा पुनः विजयी हुनुभएको हो । निर्वाचनपछिको पहिलो पत्रकार सम्मेलनमा उहाँले आफ्नो राष्ट्रवादी मुद्दालाई अगाडि बढाउने तथा अर्थतन्त्रमा निकै आवश्यक भएको सुधार गर्ने बताउनुभयो । उहाँले जापान आवेअर्थशास्त्रमा अगाडि बढ्नुपर्ने र मतले सोही कुरा देखाएको बताउनुभयो । यसमा तीन तहको आर्थिक रणनीति अगाडि बढाइएको छ । प्रधानमन्त्री आबेको विजयले उहाँलाई शान्तिवादी संविधान पुनः लेख्ने विवादास्पद योजनालाई अगाडि बढाउन एक पाइला अगाडि पु¥याइदिएको छ । उहाँको यो योजना जापानमा विभाजक देखिएको छ भने यसले चीनसँगको सम्बन्धलाई अझै नराम्रो बनाउनेछ । उहाँको सत्ताधारी लिबरल डेमोक्र्यासटक पार्टी तथा उसको सानो साझेदार कोमेइतोले आइतबार संसदको तल्लो सभाको निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेका छन् । यसले संसदको तल्लो सभाको ४७५ स्थानमा सत्ताधारी दललाई ३२६ स्थान प्राप्त भएको छ र प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टी अफ जापानलाई नराम्रोसँग पराजित गरिदिएको छ । प्रतिपक्षले ७३ स्थान प्राप्त गरेपनि त्यस पार्टीका नेता बान्री काइएदा निर्वाचनमा पराजित हुनुभएको छ र उहाँ सोमबार नेतृत्वबाट हट्नुभएको छ । तल्लो सभाले ६० वर्षीय आबेलाई डिसेम्बर २४ मा पुनः प्रधानमन्त्री नियुक्त गरेपछि उहाँले पहिलेजस्तै मन्त्रिपरिषद् गठन गर्नुहुने अनुमान गरिएको छ । आउँदो चारवर्षे संसदको प्राथमिकताका विषयमा प्रश्न गर्दा उहाँले स्कुलेविद्यार्थीमा राष्ट्रभक्ति पुनःस्थापना गर्ने र जापानले युद्धको समयमा गरेको गलत कामका बारेमा उनीहरूलाई सहानुभूतिपूर्वक जानकारी दिने बताउनुभयो । उहाँले एलडीपी स्थापना भएपछि नै संविधान पुनरावलोकन गर्ने पार्टीको उद्देश्य भएको बताउनुभयो । जापानमा अमेरिकाले लादेको संविधानले मुलुकलाई आक्रमक सैनिक कारवाही गर्न प्रतिबन्ध लगाउँछ । सार्वजनिक रूपमा विरोध देखिएपछि उहाँले संविधान पुनरावलोकनको प्रयासलाई यस वर्षको आरम्भमा परित्याग गर्नुभएको थियो । यसका लागि संसदमा दुई तिहाई मत आवश्यक पर्छ भने जनमत सङ्ग्रहमा सामान्य बहुमत आवश्यक पर्छ । प्रधानमन्त्री आबेले यस विषयमा जनतामा बुझाइलाई गहिराइमा लैजाने र व्यापक समर्थन प्राप्त गर्न प्रयास गर्ने बताउनुभयो । आबे सन् २०१२ मा मन्द भएको अर्थतन्त्रमा सुधार गर्ने बचनका साथ प्रधानमन्त्री पदमा पुग्नुभएको हो । आवेअर्थशास्त्रमा मौद्रिक सरलता, सरकारी खर्च, कर्मचारीतन्त्रको नियन्त्रण घटाउने तथा संरचनागत सुधार परेका छन् । यसपछि बैङ्क अफ जापानले मौद्रिक सरलता उपयोग गरेको थियो भने जापानी मुद्रा एनको मूल्य घटेको थियो । यसका कारण निर्यात बढेको थियो र शेयरको मूल्य बढेको थियो । यी अभिप्रेरणात्मक कार्यक्रमले जापानको अर्थतन्त्रलाई अगाढि बढाएको थियो । अर्थशास्त्रीहरूले रोजगारीको नियमन घटाउने तथा कृषिमा समूहगत अभिरुचि हटाउने काम गरी कडा सुधार गर्नु आवश्यक भएको बताए पनि उहाँले सो कार्य गर्न सक्नुभएको थिएन । अप्रिल महिनामा बिक्रीकर बढ्दा उपभोक्ताको खर्च बढेको देखिएको थियो र यसले जापानी अर्थतन्त्रलाई पुनः मन्दीतर्फ लगेको छ ।