भन्सार कार्यालयले छाप लगाएर ताला लगाएको कन्टेनरमा भेटियो २७ किलो सुन, स्याउको बाकसमा सुन
महानगरीय प्रहरी वृत्त जगातीले खासाबाट काठमाडौँतर्फ जाँदै गरेको एक कन्टेनरलाई २३ किलो अवैध सुनसहित पक्राउ गरेको छ । सुराकीका आधारमा सोमबार राति ११ बजे खासाबाट काठमाडौँ जाँदै गरेको ना२ख ५०५८ नंको कन्टेनरमा लुकाई ल्याएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा कन्टेनरमा स्याउको बाकसमा लुकाएर ल्याइएको २३ वटा सुनका बिस्केट बरामद गरेको हो । एक किलो तौल रहेको २३ थान बिस्केट बरामद गरेर प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । प्रहरीले कन्टेनर चालक सिन्धुपाल्चोक तातोपानी बस्ने ३० वर्षीय बुद्धिबहादुर श्रेष्ठ र सहचालक २५ वर्षीय राजबहादुर कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त जगातीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक किरण राणाले भने कन्टेनर नियन्त्रणमा लिएर छानबिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, सुन छ कि के छ हेर्नै बाँकी छ, हो रहेछ भने जानकारी दिउँला ।” कन्टेनर चालक र कन्टेनरमा के के छन् भन्नेबारे अनुसन्धान भइरहेकाले भन्न नमिल्ने बताउनुभयो । प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक विकास श्रेष्ठले स्याउको बाकसमा कालो झोलामा ल्याइएको पहेँलो वस्तु फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहेँलो वस्तु सबै सुन नहुन सक्छ, बाहिर पहेँलो भए पनि भित्र कालो हुनसक्छ, अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट यथार्थ आएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउँला ।”