पुस ४ गतेदेखि काठमाडौंमा हुने दक्षिण एसियाली महिला भलिबलको तयारी पुरा
आठ वर्षपछि दक्षिण एसियालीस्तरमा सहभागिता जनाउन लागेको नेपाली महिला भलिबल टोली प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ अहिले तयारीमा जुटिरहेको छ । नेपाली महिला भलिबल टोलीले एसियालीस्तरको प्रतियोगितामा लामो समयपछि घरेलु मैदानमा सहभागिता जनाउन लागेको हो । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न भएको आठौँ साग तथा २००६ मा श्रीलङ्कामा सम्पन्न दशौँ सागमा नेपाली महिला टोलीले सहभागिता जनाएको थियो । त्यतिबेला नेपाली महिला टोलीले दुवै प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएको थियो । दुवै सागको अनुभव बटुलेकी कप्तान विनिता बुढाथोकी र एउटा सागमा सहभागिता जनाइसकेकी मञ्जु गुरुङ र कोपिला उप्रेती अनुभवी खेलाडीका रुपमा अहिलेको नेपाली टोलीमा रहेका छन् भने बाँकी सबै खेलाडी नयाँ अनुहारका छन् । नयाँ र पुराना खेलाडीको सम्मिश्रणमा बनेको टोली अहिलेसम्मकै उत्कृष्ट रहेको कप्तान बुढाथोकी दाबी गर्नुहुन्छ । यस प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट नतिजा ल्याउने उहाँको विश्वास छ । नेपाली महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव भने न्यून छ । नेपाली महिला टोलीले पहिलो पटक २०४४ सालमा थाइल्याण्डविरुद्ध र गत अगस्तमा माल्दिभ्सविरुद्व गरी दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको मात्र अनुभव छ । यसैले यसपटकको प्रतियोगितामा नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिँदै आफूलाई तिखार्ने मौका पाउनेछन् । यस प्रतियोगितामा नेपालका लागि एसियामा शीर्ष दश स्थानमा रहेको भारत र श्रीलङ्काजस्ता टोलीसँग खेल्दै आफूलाई निखार्दै अनुभव बटुल्ने राम्रो अवसर मिल्नेछ । आठौँ र दशौँ सागपछिको सागमा समावेश नगरिएको महिला भलिबल प्रतियोगितालाई पुनः नेपालले दक्षिण एसियाली आमन्त्रण महिला भलिबलको नाममा आयोजना गर्न लागेको हो । यस किसिमको आयोजनाले नेपाली खेलाडीले अनुभव बटुल्नुका साथै नेपाली भलिबललाई नयाँ उचाइमा पुग्नलाई पक्कै मद्धत गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा बताउनुहुन्छ । नेपाली महिला टोलीको मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हालेका सुदेश रिमालले नेपाली टोली सन्तुलित रहेको र शारीरिक तथा प्राविधिक क्षमता राम्रो भएकै कारण पनि यस प्रतियोगितामा नेपालले पदक हासिल गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले टोलीको तयारीको लागि आफनो र सङ्घका तर्फबाट कुनै कमी नरहेको भन्दै प्रतियोगितामा नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो ।
प्रतियोगिताको तयारी पूरा
प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको नेपाल भलिबल सङ्घले जनाएको छ । यही पुस ४ गतेदेखि राजधानीमा सञ्चालन हुन लागेको सो प्रतियोगिताको तयारी पूरा भएको आयोजक सङ्घका अध्यक्ष तामाङले जानकारी दिनुभयो । नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिने सो प्रतियोगिता राउन्ड रोविनको लिगका आधारमा सञ्चालन हुनेछ । आयोजक नेपालले आफ्नो पहिलो खेल माल्दिभ्सविरुद्ध ४ गते शुक्रबार खेल्दै उद्घाटन गर्नेछ भने दोस्रो खेलमा बङ्गलादेश, तेस्रो खेल भारत र चौथो तथा अन्तिम खेलमा श्रीलङ्काको सामना गर्नेछ । उक्त प्रतियोगिताको विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछ भने उपविजेताले एक हजार डलर र तेस्रो हुने टोलीले पाँच सय डलर प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले रु २५ हजार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता तयारीको लागि प्रशिक्षक रिमाल, जगदीशप्रसाद भट्ट र कौशिला खत्रीको निगरानीमा नेपाली टोली मङ्सिरको पहिलो सातादेखि बन्द प्रशिक्षणमा व्यस्त छ । नेपाली टोली–ओपन स्पाइकरमा रमिला तण्डुकार, मन्जु गुरुङ, नेविका चौधरी र प्रतिभा माली छन् भने क्विक स्पाइकरमा सरस्वती चौधरी, उषा विष्ट, कोपिला उप्रेती, र मनिषा चौधरी छन् । त्यस्तै साइड स्पाइकरमा रेश्मा भण्डारी र अरुणा शाही छन भने सेटरमा कप्तान विनिता बुढाथोकी र सुसिला थापा छन । लिब्रोमा ज्योति चौधरी र कमला पुन रहेका छन् ।