इन्द्रचौकको एक घरमा भीषण आगलागी, असनमा आगो तापेर सुत्दा दुईजनाको मृत्यु


aago1मच्छिन्द्रवहालसँगै रहेको मासाङगल्लीको एक घरमा आज साँझ भीषण आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–२७ स्थित चैत्यकुमारी मानन्धरको छ तले घरमा खाना पकाउने ग्यासको सिलिन्डर पड्केर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक वेद विष्टले राससलाई दिनुभएको जानकारीअनुसार छ वटा दमकलले चार घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगलागी भएको स्थल साँघुरो गल्लीमा भएकाले दमकलले आगो नियन्त्रण गर्न कठिनाइ भएको उद्धार कार्यमा खटिएको प्रहरीले जनाएको छ ।
आगो ताप्दा आमा छोराको मृत्यु
आगो ताप्नका लागि कोठामा कोइला (बिक्रेट) बाली सुत्दा एकै परिवारका आमा छोराको मृत्यु भएको छ । काठमाडौँ असनस्थित ज्याठा चौकमा डेरा गरी बस्ने भारतीय नागरिक राजाराम मल्लिकका ३२ वर्षीया श्रीमती शन्तुलता र निजका पाँच वर्षीय छोरा बादलको आज बिहान मृत्यु भएको हो । बिहान काममा जानका लागि कोठामा बोलाउन जाँदा भित्रबाट चुकुल लगाएर ढोका बन्दकै अवस्थामा रहेको र ढोका ढकढ्काएर बोलाउँदासमेत धेरैबेरपछि मात्र राजारामले ढोका खोल्दा निजका श्रीमती र छोरा मृत अवस्थामा भेटिएको र राजाराम अर्धचेत अवस्थामा रहेको उनका साथी प्रदीप विशालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?