लोकतन्त्रको संस्थागत विकास गर्ने अन्तिम अवसर नगुमाउन प्रधानमन्त्रीको सबैलाई आह्वान, थप आन्दोलन आवश्यक नभएको दाबी


?????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक–सामाजिक विकासका लागि यो अन्तिम अवसर भएको बताउनुभएको छ । संविधान निर्माणमा दवाव दिनका लागि मेची–महाकाली अभियान सञ्चालन गर्ने, मूल्य वृद्धि घटाउने, गाडी भाडा घटाउने र विश्व विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नुपर्नेलगायतका माग लिएर प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका विद्यार्थी सङ्गठनको संयुक्त प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री कोइरालाले नेपालले सङ्घीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेकाले थप आन्दोलनको आवश्यकता नरहेको पनि बताउनुभयो । “अहिले प्राप्त उपलब्धि संस्थागत गरौँन, आन्दोलन जरुरी छैन” प्रधानमन्त्री कोइरालाले भन्नुभयो– “अभियान र आन्दोलन चलाउँदा तोडफोड, बन्द र हिंसा नहोस् भन्नेमा विचार पु¥याउनु होला । मुलुक द्वन्द्वमा जाने अवस्थाबाट जोगाउनु होला ।” प्रधानमन्त्री कोइरालाले अब बन्ने संविधानमा सबै जातजाति, दलित, मुस्लिम, पिछडिएका, अल्पसङ्ख्यक समुदाय, र विभिन्न भाषा, धर्म, संस्कृति मान्ने नेपालीको अधिकार संरक्षित हुने भएकाले थप आन्दोलन आवश्यक नभएको पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा अब विकासको बाटो खुलेको पनि बताउनुभयो । भारतसँग हालै भएका विद्युत् व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका निर्माणकर्तासँग भएका परियोजना विकास सम्झौताले नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिएको पनि बताउनुभयो । उहाँले नेपालमा ठूलो परिवर्तन र उपलब्धि हासिल भएको बताउँदै हामी सबैको ध्यान त्यसलाई जोगाएर संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भोटेकोसी आयोजनामा देखिएको विवाद औँल्याउँदै नेपाल आइसकेका लगानीकर्तालाई दुःख दिन नहुने सन्देश आम नागरिकको जानकारीमा पु¥याउन  पनि विद्यार्थीसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माण, शान्ति, स्थायित्व र विकास युवा र नयाँ पुस्ताका लागि पनि उत्तिकै सरोकारको विषय भएको बताउँदै सबै दलका नेताहरुलाई समयमा संविधान ल्याउन दबाब दिन पनि आग्रह गर्नुभयो । “हाम्रो भविष्यमा खेलवाड नगर्नुस भन्ने सन्देश तपाइँहरुले सबै दलका नेताहरुसमक्ष पु¥याउन आवश्यक छ, ” प्रधानमन्त्री कोइरालाले भन्नुभयो । प्रधानमन्त्री कोइरालाले आफूलाई मुलुकको भविष्यको चिन्ता लागेको बताउँदै संविधान निर्माण भएपछि देशमा शान्ति र स्थिरताको वातावरण कायम हुने भएकाले संविधान बनेपछि आफूले प्रधानमन्त्रीको पदत्याग गर्ने बचन पनि दिनुभयो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा भेटवार्तामा संलग्न प्रतिनिधिमण्डलमा अनेरास्ववियू, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, अखिल नेपाल विद्यार्थी युनियनलगायतका ११ विद्यार्थी सङ्गठनका प्रतिनिधि उपस्थित थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?