पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकै रुपमा मनाउन माग
पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग गरेको छ । प्रतिष्ठानका संयोजक भरत बस्नेतले ‘राष्ट्रनिर्माता’का सम्मानमा राष्ट्रिय एकता दिवस मुलुकमा नमनाए देशको राष्ट्रिय अस्तित्व नै सङ्कटमा पर्ने भन्दै सो दिनलाई भव्य र उल्लासमय रुपमा सरकारीस्तरमै राष्ट्रिय पर्वका रुपमा मान्यता प्रदान गर्न आग्रह गर्नुभयो । बस्नेतका अनुसार प्रधानमन्त्री, गृहमन्त्री र विभिन्न दलका नेता राष्ट्रिय एकता दिवस पुनःस्थापना गर्न सकारात्मक हुनुभएको छ । वरिष्ठ संस्कृतिकर्मी, इतिहासकार तथा साहित्यकार मोदनाथ प्रश्रितले अङ्गे्रज उपनिवेशविरुद्ध सबै जातजातिको सहायताले नैपाल एकीकरण सुरु गर्ने महान् राष्ट्रनायक एवं अत्यन्त दूरदर्शी शाहप्रति सम्मान गर्दै हाम्रो धर्म, संस्कृति र जातीय बिखण्डन गर्ने षडयन्त्रप्रति सदैव जागरुक हुनुपर्नेमा जोड दिनुभयो । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले परिवर्तनका नाममा मुलुकको गौरवमय सम्पदा भत्काउने, मूर्तिहरु ढाल्ने र मुलुकलाई असफल राष्ट्र बनाउने षडयन्त्रविरुद्धसम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले शाहले मुलुकको शान्तिसुरक्षा, कूटनीति, अर्थनीति आदि विषयमा दिएको योगदान र उपदेश अहिले पनि सान्दर्भिक छ भन्दै उनको विचार, दर्शन, भनाइ र दिव्योपदेशलाई कार्यान्वयन गर्नका लागि दिवस मनाइनुपर्छ भन्नुभयो । इतिहासविद् डा रमेश ढुङ्गेलले विगतको सरकारले गरेको गल्ती सच्याउने यो उपयुक्त अवसर भएकाले हिम्मतका साथ राष्ट्रनिर्माताका सम्मानका लागि पृथ्वीजयन्ती मनाउनुपर्ने बताउँदै कुनै पनि राष्ट्र राष्ट्रिय एकता दिवसविहीन हुनुहुँदैन भन्नुभयो । इतिहासविद् प्रा डा सुरेन्द्र केसीले इस्ट इन्डिया कम्पनीले भारतलाई सिध्याउँदै नेपाललाई पनि त्यही रुपमा विस्तार गर्ने योजनामा भए पनि त्यसलार्ई शाहले असफल तुल्याइदिए, जतिबेला कार्लमाक्र्स पनि जन्मिएका थिएनन् भन्दै शाहको जन्मजयन्ती नमनाउनेहरु अराजक एवम् उद्दण्ड भएको आरोप लगाउनुभयो । बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईले नेपाललाई बनाएर नेपालीको स्वाभिमान जोगाउने व्यक्तिको जन्मजयन्ती मनाउनुपर्छ भनेर बहस गर्नुपर्ने दिन आउनु नै दुर्भाग्य भएको गुनासो गर्नुभयो । विश्व हिन्दू महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बाँस्तोला संहिताशास्त्रीले धर्मनिरपेक्षताका नाममा नेपाललाई पश्चिमाले प्रयोगशाला बनाउने काम गरेकामा आपत्ति जनाउँदै यस्तै रुपमा अघि बढ्ने हो भने नेपाल क्रिमिया बन्न समय नलाग्ने विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्य धर्मराज बराल, साहित्यकार विष्णु प्रभात र नेपाल एसिया नेपाल अध्ययन केन्द्रका पेशलकुमार निरौलालगायतले राष्ट्रिय एकता दिवसबिनाको देश टुहुरो हुने विचार व्यक्त गर्नुभयो ।