आजबाट प्रथम दक्षिण एसियाली महिला भलिबल, पहिलो खेल नै नेपाल र माल्दिभ्सबीच हुँदै
प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आज माल्दिभ्सको सामना गर्दै मैदानमा उत्रने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने सो प्रतियोगितामा नेपालले माल्दिभ्सको सामना गर्दै उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले आठ वर्षपछि पहिलो पटक दक्षिण एसियालीस्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा सम्पन्न दशाँै साग खेलकुदमा नेपाली महिला टोलीले सहभागिता जनाएको थियो भने त्यसअघि सन् १९९९ मा काठमाडौँमा भएको आठौँ सागमा भाग लिएको थियो । दुवै प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो । राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक सुदेशकुमार रिमालले भारत र श्रीलङ्का नेपालका प्रमुख प्रतिद्वन्द्वी रहेको बताउनुभयो । उहाँले नेपाली टोली शारीरिक र मानसिक रुपमा बलियो भएकाले प्रतियोगितामा रजत पदक जित्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, नेपाली महिला भलिबलको टिमकी कप्तान विनिता बुढाथोकीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल चरणमा पुग्ने बताउनुभयो । नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिने सो प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक हजार र ५०० डलर प्राप्त गर्नेछन् । चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले रु २५ हजार प्राप्त गर्नेछन् ।