आठ बालबालिका हत्याकाण्ड, हत्या गरेको अभियोगमा आमा पक्राउ


eightअष्ट्रेलियाको क्यारिन नगरको एक घरमा मृत अवस्थामा आठजना बालबालिकाको शव भेटिएको घटना नयाँ मोडमा पुगेको छ । उक्त घरमा ती शव भेटिएपछि प्रहरीले थालेको अनुसन्धानमा घटनामा घाइते भएकी ति बच्चाहरुकी आमा ३७ वर्षीय महिलालाई पक्राउ गरेको छ। अहिले निजको अस्पतालमा उपचार भइरहेकोले प्रहरीले तिनलाई अस्पतालमै नजरबन्दमा राखेको हो । प्रहरीले घटनास्थलबाट केही छुरी लगायतका हतियार पनि बरामद गरेको छ। किन हत्या गरिएको भन्ने विषयमा अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ।यसअघि घटनाबारे प्रतिक्रिया दिँदै अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले यस घटनालाई दुःखद भन्नुभएको थियो । उहाँले सो समाचारले आफू स्तब्ध बनेको धारणा सार्वजनिक गर्नुभएको छ । अष्ट्रेलियाको सिड्नीमा हालैमात्र अपहरणकारीहरुले अपहरण गरी राखेका केही व्यक्तिमध्ये दुईजनाको हत्या भएको थियो । सो समाचार विश्वव्यापी रुपमा नै फैलिएको थियो । ती बालबालिकाका सबैजना आमाबाबुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री अबोटले सो घटनालाई बोल्न नसकिने पीडाका रुपमा आफूले लिएको एक विज्ञप्तिमार्फत जनाउनुभएको छ । मारिने बालबालिकामा १८ महिनाको शिशुदेखि १५ वर्षसम्मका रहेका समाचारमा जनाइएको छ । यस हत्याको विषयमा प्रहरीले अनुसन्धान थालेको भन्दै अहिले नै केही भन्न नसकिने बताएको छ ।
क्यारिन अष्ट्रेलियाको एक प्रसिद्ध पर्यटकीय नगर हो । करिब डेढ लाखमात्र जनसङ्ख्या भएको सो सहरमा विदेशी पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्यहरु रहेको छ । एकदिनमात्र अघि अष्ट्रेलियाकै मेलबर्नका एक व्यक्तिलाई आफ्ना साना दुई छोरीको हत्याको अभियोगमा जेल चलान गरिएको थियो । अष्ट्रेलियामा पछिल्लो समयमा यसरी बालबालिकामाथि हुने यस्ता हिंसाका घटनामा वृद्धि भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?