प्रक्रियाबाट भएपनि माघ ८ गते संविधान जारी गरिने उपप्रधानमन्त्री सिंहको दाबी
उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका माध्यमबाट सम्भव नभए प्रक्रियाबाट भए पनि माघ ८ मा लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ । लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा गणेशमान सिंह केन्द्रको आयोजनामा गरिएको विचार गोष्ठीमा उहाँले संविधान निर्माण कार्यमा सबै राजनीतिक दलहरूसँग सहमतिको प्रयास भइरहेको बताउनुभयो । उहाँले खासगरी विवादित विषय रहेका सङ्घीय संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरूपबारे सबै दलबीच छलफल भइरहेको उल्लेख गर्नुभयो । दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली जनतालाई एक वर्षभित्र संविधान दिने बाचा गरेअनुरूप सोहीबमोजिम माघ ८ मै संविधान दिनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड रहेको थियो । उहाँले अब निर्माण हुने संविधानमा सबै जातजातिको भाषा, धर्म एवम् अधिकार सुनिश्चित गरिने बताउनुभयो । पहिलो जनआन्दोलनबाट नेपालीको राजनीतिक अधिकार सुनिश्चित भएपछि अब देशमा आर्थिक र सामाजिक क्रान्तिमा गणेशमान सिंहले जोड दिएको चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले उहाँको सपनालाई साकार पार्न त्यही दिशातर्फ काँग्रेस अग्रसर रहेको उल्लेख गर्नु भयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लौहपुरुष गणेशमान सिंह राजनेता भएको बताउदै सिंहले देखाएको बाटोलाई अहिङ्कार गर्दै अब काँग्रेसले आर्थिक क्रान्तिको एजेन्डामा रहेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले सर्वाेच्च नेता गणेशमानको सपनालाई साकार पार्नका निमित्त सबैले आ–आफ्नो तह र तप्काबाट योगदान गरिनुपर्नेमा जोड दिनुभयो ।